जयस्नु र अर्नवलाई टेबलटेनिसको स्वर्ण

असार २, २०८२

कान्तिपुर संवाददाता

Table tennis gold to Jayasnu and Arnav

काठमाडौँ — कीर्तिपुर नगरपालिकाका जयस्नु महर्जन र काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत टेबलटेनिसमा स्वर्ण पदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार यू–१६ फाइनलमा जयस्नुले काठमाडौं महानगरपालिका वडा २ का उज्ज्वल मानन्धरलाई ६–११, ११–४, ११–४, ११–८ को सेटमा पराजित गरे । कीर्तिपुरका सफल महर्जन र वडा २६ का आर्यन शाहीले कांस्य जिते ।

यू–१४ फाइनलमा अर्नवले वडा १ का निश्चल थापालाई ११–२, ९–११, ११–७, ५–११, १२–१० को सेटमा हराए । वडा १७ का नीरव महर्जन र वडा २६ का शम्भुराज वन्त तेस्रो भए । काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा कामनपा वडा २ का उमेश मानन्धर विजेता भए । उनले फाइनलमा वडा २६ का चन्दन शाहीलाई १३–११, ९–११, १२–१०, ११–७ ले हराए । कीर्तिपुरका सुधीर महर्जन र जयराम महर्जन तेस्रो भए । प्रतियोगितामा वडा २५ का रियान्श श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि यू–१६ गर्ल्स सिंगल्समा कामनपा वडा १७ की प्राज्ना महर्जन, यू–१४ गर्ल्स सिंगल्समा वडा ११ की अंशु खनाल, भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा वडा २९ की इन्दिरा पराजुली, यू–१२ ब्वाइज सिंगल्समा वडा ३० कृतन श्रेष्ठ र यू–१२ गर्ल्स सिंगल्समा वडा १६ की यमिला श्रेष्ठले स्वर्ण जितेका थिए ।

सबै स्पर्धामा प्रथमले १० हजार, द्वितीयले ५ हजार र तृतीयले २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठ, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले पुरस्कृत गरे ।  

फुटसलमा आयोजक वडा २६ क्वाटरफाइनलमा पुगेको छ । लैनचौर मैदानमा आयोजकले वडा १७ लाई ३–० गोलले हरायो । साजन शाही म्यान अफ द म्याच भए । वडा १७ ले वडा ३० लाई टाइब्रेकरमा हराएर क्वाटरफाइनलमा स्थान बनायो ।  

कान्तिपुर

Link copied successfully