काठमाडौँ — प्रो गल्फर रवि खड्काले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको सोमबार पहिलो दिन अग्रता लिएका छन् ।
५ अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुवास तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुवास ४ अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे । ३ अन्डर ६९ को नतिजामा दुई एमेच्योर भुटानका निमदोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्त तेस्रो स्थान रहे ।
२ अन्डर ७० स्कोर गरेका नीरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त सातौं स्थानमा छन् । १ अन्डर ७१ स्कोर गरेका दीपक मगर, रामकृष्ण श्रेष्ठ र एमेच्योर वाङचेन ढोन्डुपले नवौं स्थान रहे । पूर्व नम्बर एक गल्फर रविले छैटौंदेखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४ अन्डर ३२ मा सकेका थिए । उनले ब्याकनाइनमा १२ र १७ औं होलमा १–१ शट बचाए । १३औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३५ मा पूरा गरे ।
सुवासले फ्रन्टनाइन १ ओभर ३७ मा सक्दा छैटौं होलमा बर्डी प्रहार गरे । पाँचौं र सातौं होलमा शट खेर फालेका उनले ब्याकनाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याकनाइन खेल्ने क्रममा १०, १२ र १६औं होलमा बर्डी प्रहार गरे । ५ पारको १५ औं होलमा इगलको सफलता पाए ।
एमेच्योरतर्फ भुटानी निम दोर्जी र नेपालका राहुल अगाडि रहँदा उनीहरूले ३ अन्डर ६९ को स्कोरमा वाङचेनलाई २ स्ट्रोकले पछि पारे । दोर्जीले तेस्रो र सातौं होलमा इगल प्रहार गरे । छैटौं होलमा एक बट बचाए । पहिलो र आठौं होलमा बोगी सामना गर्दा फ्रन्टनाइन ३ अन्डर ३३ मा पूरा गरे । ११ र १४ औं होलमा बर्डी तथा १५ र १८ औं होलमा बोगी खेपेका उनले ब्याकनाइन इभन पार ३६ खेलेका थिए ।
राहुलले फ्रन्टनाइन १ अन्डर ३५ र ब्याकनाइन २ अन्डर ३४ मा सके । उनले ५ बर्डी र दुई बोगी प्रहार गरे । १ अन्डर ७१ स्कोर गरेका वाङचेनले सातौं होलमा चार शट खेर फाले । उनले ६ बर्डी प्रहार गर्दा एक बोगी सामना गरे ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख रुपैयाँ पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले उपाधिसहित ३ लाख प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौंले ९२ हजार रुपैयाँ हातपार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । १८ एमेच्योर खेलाडी पनि प्रतिस्पर्धा छन् । यो यस सिजनको सूर्य नेपालको अन्तिम प्रतियोगिता हो ।
