लन्डन — जर्मनीकी छनोट खेलाडी तात्जाना मारियाले आफ्नो करियरको सबैभन्दा ठूलो उपाधिको रूपमा क्विन्स क्लबमा विम्बल्डन वार्मअप प्रतियोगिता जितेपछि ‘क्विन्स अफ क्विन्स’ घोषित भइन् ।
दुई सन्तानकी आमा ३७ वर्षीयाले लन्डनमा भएको क्लिन्स क्लब ग्रासकोर्ट टेनिस च्याम्पियनसिप फाइनलमा आठौं वरीयताप्राप्त अमेरिकी अमान्दा एनिसिमोभालाई ६–३, ६–४ ले हराएकी थिइन् । ८६ औं वरीयताप्राप्त मारियाले आफ्ना छोरीहरू चार्लोट र सेसिलियासहित पति तथा प्रशिक्षक चार्ल्स–एडुवार्ड मारियाको अगाडि उपाधि जितिन् ।
‘यो उपाधि जितको अर्थ मेरा लागि धेरै छ,’ मारियाले भनिन्, ‘यो उमेरमा पनि तपाईं अझै पनि ठूला ट्रफी जित्न सक्नुहुन्छ भन्ने राम्रो उदाहरण बन्न सकेकी छु, यसमा आफैंमा धेरै गर्व छ ।’
आफ्नो चौथो डब्लूटीए उपाधि जित्ने क्रममा उनले शीर्ष २० औं वरीयताभित्रका क्यारोलिना मुचोभा, एलेना रेब्किना र म्याडिसन किजसहित हराएकी थिइन् । २०२० पछि उनी डब्लूटीए टुरमा सबैभन्दा जेठी एकल च्याम्पियन भइन् । त्यतिबेला सेरेना विलियम्सले ३८ वर्षको उमेरमा अकल्यान्ड क्लासिक जितेकी थिइन् ।
सन् २०१८ मा मालोर्कामा घाँसे कोर्टमा डब्लूटीए उपाधि जितेकी उनले २०२२ र २०२३ मा बोगोटामा हार्डकोर्टमा दुई पटक जितेकी थिइन् । विम्बल्डन सेमिफाइनलसम्म पुगेकी मारिया सोमबार विश्व वरीयतामा ४३ नम्बरमा उक्लनेछिन् ।
