काठमाडौँ — दाङको अल्फा तेक्वान्दो डोजाङले प्रथम एनटीए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिपको ट्रफी जितेको छ ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सोमबार सम्पन्न जुनियर ब्वाइजको फाइनलमा टिम चितवनलाई पराजित गर्दै अल्फाले ट्रफी उचालेको हो । वसन्त विष्ट, कमल परियार र कमल खड्कासम्मिलित अल्फाले कृष्ण बिक, रौनक राउत र सौगात सुन्दाससम्मिलित टिम चितवनलाई ४८–३४ अंकले हराएको थियो । टिम धादिङ र टिम तारकेश्वरले तेस्रो स्थान हात पारे ।
जुनियर गर्ल्समा टिम तारर्केश्वर विजेता भयो । प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले फेयरलेस डोजाङलाई ७१–६२ अंकले हरायो । तारकेश्वरबाट सपना रिखाम, कृतिका थापामगर र सोनिया तामाङ तथा फेयरलेसबाट अनिशा मगर, लक्ष्मी तामाङ र सृष्टि लामाले प्रतिस्पर्धा गरेका थिए । यानसु डोजाङ र गोर्खाली डोजाङले तेस्रो स्थान हात पारे ।
क्याडेट ब्वाइजतर्फ ढल्को डोजाङ च्याम्पियन भयो । ढल्कोले फाइनलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षासदनलाई पराजित गर्यो । नेपाल टाइगर्स र सीतापाइला डोजाङले तेस्रो स्थान हात पारे । क्याडेट गर्ल्सको उपाधि राइजिङ फाइटर्सले जितेको थियो ।
च्याम्पियनसिप विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले पुरस्कार प्रदान गरेका थिए ।
संघले पहिलो पटक ग्योरोगी विधामात्र समावेश गरेर टिम च्याम्पियनसिप आयोजना गरेको हो । प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्योरोगीको नियमअनुसार सञ्चालन गरिएको थियो । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट गर्ल्स/ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गर्ल्स/ब्वाइज टिम गरी चार स्पर्धा समावेश गरिएको थियो ।
