काठमाडौँ — भुटानको थिम्पूमा भएको १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा १ स्वर्ण र ३ रजत पदक जितेका खेलाडी आइतबार स्वदेश फर्केका छन् ।
जेठ ३१ मा सम्पन्न प्रतियोगितामा नेपालका तीन पुरुष र दुई महिला खेलाडीले भाग लिएका थिए । महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले स्वर्ण जितिन् । सोही स्पर्धामा शीला ठकुरीले रजत दिलाइन् ।
पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत, पुरुष स्पोटर््स फिजिक १७५ सेन्टिमिटरमुनि अवतार श्रेष्ठले रजत पदक जितेका थिए । पुरुष स्पोटर््स फिजिक १७५ सेन्टिमिटरमाथि प्रनिश श्रेष्ठ पदकविहीन भए । उनी पाँचौं स्थानमा रहे ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार परिषद् हातामा स्वागत गरेको थियो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई स्वागत गर्दै बधाई दिए । त्यसअघि पदक विजेता उनीहरूलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
सदस्य–सचिव घिसिङले शारीरिक सुगठनका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर देशको नामलाई बडीविल्डिङको क्षेत्रमा स्थापित गराएको चर्चा गर्दै यसले युवापुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने बताए ।
शारीरिक सुगठन महासंघका उपाध्यक्ष कायस्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गराए ।
अफिसियलको रूपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनेश राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजनाबारे भुटानमा छलफल भएको जानकारी गराए ।
