काठमाडौँ — सातदोबाटोस्थित तेक्वान्दो हलमा आइतबारदेखि पहिलो एनटीए नेसनल टिम तेक्वान्दो च्याम्पियनसिप (ग्यारोगी) सुरु भएको छ ।
चार विधामा हुने प्रतियोगितामा क्याडेट गर्ल्स र ब्वाइज (१२–१४ वर्ष) तथा जुनियर गर्ल्स र ब्वाइज (१५–१७ वर्ष) का खेलाडीले भाग लिएका छन् । यो व्यक्तिगत नभई समूहगत रूपमा खेलाडीको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता ६७ टिमको सहभागिता रहेको आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ ।
पहिलो दिन क्याडेट गर्ल्सतर्फ राइजिङ फाइटरका कृतिका देउला, जेनी जोशी र अमृता लामाको टिम विजयी भयो । दोस्रो स्थानमा बालाजु तेक्वान्दो डोजाङका सुजिता तामाङ, सन्ध्या प्रधान र समिता तामाङ रहे ।
संयुक्त तेस्रो भएका ओम डोजाङका एलिना खातुन, अस्मी धिमाल र कार्लिन रन्जितकार तथा सीतापाइला डोजाङकी रोजिना तामाङ, आयुशा सुयल र चाँदनी खातुन थिए । विजेताले ५० हजार दोस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
