काठमाडौँ — सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबार गोकर्ण गल्फ क्लबमा सुरु हुनेछ ।
असार ५ सम्म चल्ने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम छ । कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडी तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीले अन्तिम दुई राउन्डका लागि स्थान बनाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ सिजनको यो अन्तिम प्रतियोगिता हो । प्रतियोगितामा ३७ प्रोफेसनल गल्फरले सर्वाधिक १६ लाख पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १८ उत्कृष्ट एमेच्योर खेलाडीको पनि सहभागिता हुनेछ ।
विजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । दोस्रोले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुने खेलाडीले ९२ हजार रुपैयाँ जित्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर ७ लाख ४२ हजार ५ सय पुरस्कार पाएका नीरज तामाङ यस सिजनको ‘अर्डर अफ मेरिट’ मा अगाडि छन् । तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन् । नम्बर एक प्रो बन्ने दौडमा रहेका नीरजले सूर्य नेपाल इस्टर्न ओपन, वेस्टर्न ओपन र म्याच प्ले उपाधि जितेका थिए ।
भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्रबहादुर राई र सुवास तामाङले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको आचार्यले बताए । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा, भुटानका शीर्ष एमेच्योर निमदोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अपेक्षा छ ।
चार दिने प्रतियोगितापछि असार ७ मा प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ प्रोफेसनल र १ सय कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशासहित हुन लागेको बताए । उनले भने, ‘खेलाडीहरू उत्साही छन्, उनीहरू सिजनलाई सफलतापूर्वक टुंग्याउन आतुर छन् ।’
उनले मुख्य प्रायोजक सूर्य नेपाल प्रालिलाई नेपाली गल्फको विकासमा अनवरत साथ दिएकोमा आभार व्यक्त गरे । गल्फले पर्यटन क्षेत्रमार्फत देशको आर्थिक विकासमा टेवा पुर्याउने भए पनि सरकारले गल्फ कोर्समा लगानी गर्नेतर्फ सोच बनाउन नसकेको अध्यक्ष श्रेष्ठको गुनासो थियो ।
