प्राज्ना र अंशुलाई टेबलटेनिसको स्वर्ण

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Table tennis gold to Prajna and Anshu

काठमाडौँ — काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा काठमाडौं महानगरपालिका–१७ की प्राज्ना महर्जन र काठमाडौं महानगरपालिका ११ की अंशु खनालले स्वर्ण पदक जितेका छन् । प्राज्नाले गर्ल्स यू–१६ र अंशु यू–१४ विजेता भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा यू–१६ फाइनलमा प्राज्नाले कीर्तिपुर नगरपालिकाकी मिचुली महर्जनलाई ११–८, ११–८, ११–८ ले पराजित गरिन् । कामनपा ६ की विदिशा मैनाली र तार्केश्वर नगरपालिकाकी सृष्टि बुढाथोकी संयुक्त तेस्रो भए ।

काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भइरहेको प्रतियोगिताको यू–१४ फाइनलमा अंशुले तार्केश्वरकी स्मृति गुरुङलाई ११–६, ११–३, ११–८ को सोझो सेटमा हराइन् । कामनपा ७ की परिधि बस्नेत र कीर्तिपुरकी डेजी महर्जन तेस्रो भए ।

कामनपा ३० का कृतन श्रेष्ठले यू–१२ ब्वाइज सिंगल्समा स्वर्ण जिते । कृतनले फाइनलमा कामनपा २१ का सविक डंगोललाई ११–७, ८–११, ११–४, ११–४ को सेटमा हराए । कामनपा २५ का रेयान्श श्रेष्ठ र कामनपा २६ का डानियल महर्जनले कांस्य जिते । सोही विधाको गर्ल्समा कामनपा १६ की यमिला श्रेष्ठले कामनपा २६ की तारा तामाङलाई सीधा सेटमा ११–५, ११–३, ११–३ ले हराएर स्वर्ण जितिन् । कामनपा २६ का सदिक्षा तामाङ र नेरिसा तामाङले कांस्य जिते ।

८ स्पर्धामा १ सय खेलाडी सहभागी छन् । कुल पुरस्कार राशि १ लाख ६० हजार रहेको छ । टेबलटेनिससहित फुटसल, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी ५ खेल समावेश बृहत खेलकुदको औपचारिक उद्घाटन आइतबार लैनचौर मैदानमा हुनेछ ।

कान्तिपुर

Link copied successfully