काठमाडौँ — झापाका रिसोन थापाले प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा शतप्रतिशत जित निकाल्दै उपाधि जितेका छन् । रिसोनले ९ चरणमा पूर्ण ९ अंक लिएर ४० हजार रुपैयाँ पुरस्कार जिते । श्रीलंकामा भएको जुनियर एसियाली ब्लिट्ज चेसमा दोस्रो भएका सीएम पुरुषोत्तम सिलवालले ८ अंक जोडेर दोस्रो भए । उनले २५ हजार पाए ।
प्रतिस्पर्धामा समान ७ अंक भए पनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रतीक सुवेदी तेस्रो भए । उनले १० हजार पाए । समान ७ अंक भए पनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा ललितपुरका अविक शाह चौथो भएर ७ हजार ५ सय पुरस्कार जित्न सफल भए । काठमाडौंका अग्रिम सैंजु पाँचौं स्थानमा रहे । उनले ५ हजार पुरस्कार थापे ।
जुनियर छात्रातर्फ काठमाडौंकी रिया श्रेष्ठले ७ चरणको खेलमा ५ जित र २ बराबरी नतिजासँगै उपाधि जितेकी छन् । अपराजित रहँदै उपाधि जित्ने क्रममा रियाले ४० हजार पुरस्कार हात पारेकी छन् । बाँकेकी इशा गिरीले ५.५ अंक र टाइब्रेक ३३ प्वाइन्ट जोडेर द्वितीय भइन् । उनले २५ हजार प्राप्त गरिन् । दक्षिणकाली नगरपालिकाकी एन्जल महर्जनले तृतीय भइन् । उनले १० हजार पाएकी छन् । काठमाडौंकी दानिसा पुरीले चौथो स्थान हासिल गरिन् । उनले ७ हजार ५ सय जितिन् । काठमाडौंकै प्रिसियस अधिकारीले पाँचौं स्थानमा रहेर ५ हजार जितिन् ।
विधागततर्फ उत्कृष्ट छात्र यू–८ काठमाडाका शुभाङ्ग प्रधान, यू–१० आश्विक पोखरेल, यू–१२ समृद्ध श्रेष्ठ, यू–१४ ओस्कार पन्थी र यू–१६ आद्यान्त काफ्ले र यू–१८ युनिक गौतम विजेता भए । छात्रातर्फ यू–१० अग्रता आचार्य, यू–१२ निहाना श्रेष्ठ, यू–१४ नेलिसा ओझा, यू–१६ ओजश्वी श्रेष्ठ र यू–१८ ग्लोसी श्रेष्ठ विजेता भए ।
बूढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा भएको भएको प्रतियोगितामा बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारी, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कार वितरण गरे ।
