प्रचण्ड कप महिला भलिबल : एपीएफ च्याम्पियन, पुलिस उपविजेता

जेष्ठ ३१, २०८२

दीपक परियार

Prachanda Cup Women's Volleyball: APF Champion, Police Runner-up

पोखरा — प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार पोखरा रंगशालास्थित कभर्डहलमा भएको फाइनलमा एपीएफले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्‍यो ।

एपीएफले ३–० को सहज जितसँगै च्याम्पियन बनेको हो । प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको पुलिसले निर्णायक खेलमा भने त्यो लय कायम राख्न सकेन । पहिलो सेट प्रतिस्पर्धात्मक देखिए पनि अन्त्यतिर एपीएफले लय समात्दै २५–१९ ले सेट आफ्नो बनायो ।

दोस्रो सेटमा पनि पुलिसले केही प्रयास गरेपनि निरुता ठगुन्नाको धारिलो आक्रमण र एपीएफको बलियो रक्षापंक्तिसामु टिक्न सकेन । यो सेट एपीएफले २५–२० ले जित्दै खेलमा २–० को अग्रता बनायो ।

तेस्रो सेटमा भने एपीएफ झनै बलियो देखियो । पुलिस कमजोर देखिँदा एपीएफले २५–११ को फराकिलो अन्तरले सेट जित्दै उपाधि सुनिश्चित गर्‍यो । उपाधिसँगै एपीएफले नगद ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने दोस्रो स्थानमा सिमित भएको पुलिसले ३ लाख रुपैयाँमा चित्त बुझायो ।

फाइनलअघि तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब विजयी भयो । उसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्‍यो र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

सेमिफाइनल चरणमा एपीएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई सोझो सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान बनाएका थिए । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा ६ टिम सहभागी थिए । नेस्नल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको आयोजनामा प्रतियोगिता भएको हो । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully