कास्की — पोखरामा तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे ।
उद्घाटन खेलमा स्याङ्जाले म्याग्दीमाथि ६ विकेटको जित निकाल्यो । ८९ रनको लक्ष्य पछ्याएको स्याङ्जाले १२.४ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनायो । स्याङ्जाका लागि ईश्वर क्षेत्रीले सर्वाधिक ३९ रन बनाए । उनले १८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । करण पंगेनी २३ रन, अश्विनी राना २० रनमा नटआउट रहे । म्याग्दीका लागि हरि सुवेदी र सागर कटुवालले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ थालेको म्याग्दी १८.५ ओभरमा ८८ रनमा समेटियो । म्याग्दीका लागि रोशन कार्कीले सर्वाधिक २७ रन बनाए । दिनेश क्षेत्रीले २४, सागर कटुवालले २० रन जोडे । अन्य ब्याट्सम्यान टिक्न सकेनन् ।
स्याङ्जाका करण पंगेनी र सुजन गौतमले उत्कृष्ट बलिङ गरे । दुवैले समान ३–३ विकेट लिए । तुल्सीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे ।
दोस्रो खेलमा तनहुँले बागलुङलाई १० रनले हरायो । टस जितेर ब्याटिङ थालेको तनहुँले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । तनहुँका लागि वंश क्षेत्री ७० रनमा अविजित रहे । उनले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याएका थिए । सुप्रिम सुनारले १९, नरेश शाहीले १४ र समीर कँडेलले १० रन जोडे । बागलुङका विश्व कार्कीले ३, अश्विन थापा र सञ्चार निउरेले समान २–२ विकेट हात पारे ।
१ सय ३५ रनको लक्ष्य पछ्याएर जवाफ व्याटिङ थालेको बागलुङ ६ विकेट गुमाएर १ सय २४ रनमा समेटियो । बागलुङका विवेक नेपाली ४९ बलमा ३७ रन बनाएर नटआउट रहे । आरस तामाङले १९, चन्द्रदीप यादवले १७ र साहिल स्वर्णकारले १९ रन बनाए ।
तनहुँका वंश क्षेत्रीको प्रदर्शन बलिङतर्फ पनि उत्कृष्ट रहृयो । उनले २ विकेट लिए । चन्द्रकान्त पौडेलले २ विकेट लिँदा सन्दीप पराजुली र क्रिश अय्यरले १–१ विकेट लिए ।
प्रतियोगिता दुई समूहमा विभाजनमा गरी सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । आइतबार म्याग्दी र तनहुँ तथा बागलुङ र स्याङ्जाबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही २–२ हजारसहित ट्रफी प्रदान गरिनेछ ।
