१८ वर्षको कीर्तिमान उछिन्दै अनिशा

आफू जन्मनुभन्दा अघि २०६४ मा केशरी चौधरीले बनाएको ट्रिपलजम्पको जुनियर कीर्तिमान तोडिन् अनिशा थारूले

जेष्ठ ३१, २०८२

ध्रुव तुलाधर

Anisha breaking the record of 18 years

काठमाडौँ — एथलेटिक्सको फिल्ड इभेन्टमा एकताका केशरी चौधरीले हलचल नै ल्याइन् । जुनियरदेखि सिनियरसम्म कीर्तिमानहरू एकपछि अर्को भंग गर्दै अगाडि बढिरहिन् । हाइजम्प, लङजम्प र ट्रिपलजम्पमा उनको वर्चस्व हुने गर्थ्यो । धेरै राष्ट्रिय कीर्तिमान केशरीकै नाममा छ । उनै केशरीको १८ वर्ष पुरानो कीर्तिमानलाई शुक्रबार दशरथ रंगशालामा अनिशा थारूले तोडिदिइन् ।

कीर्तिमान तोडिएको इभेन्ट हो ट्रिपलजम्प । १५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा अनिशाले ११ दशमलव २७ मिटर जम्प गर्दै नयाँ जुनियर कीर्तिमान स्थापित गरिन् । यो इभेन्टमा केशरीको नाममा १०.८० मिटरको कीर्तिमान थियो, जुन २०६४ सालमा बनाएकी थिइन् । त्यतिबेला अनिशा त जन्मेकी नै थिइनन् । अनिशा त बल्ल १६ वर्ष पुगेकी छन् । 

संयोग, उनीहरूको घर भने एउटै पालिकामा पर्दछ । त्यो बाँकेको राप्ती सोनारी गाउँपालिका हो । दुवैको गाउँ भने वारिपारि छ । केशरीकै चर्चाबीच हुर्केकी अनिशाले उनकै रेकर्ड तोड्न पाउँदा आफूलाई भाग्यमानी ठानिन् । 

‘गाउँमा पनि केशरी दिदीको एकदमै चर्चा हुन्थ्यो । उहाँले एकपछि अर्को कीर्तिमान बनाइरहनुहुन्थ्यो । त्यसले पनि मलाई प्रेरित गर्‍यो । आज दिदीकै कीर्तिमान भंग गर्न पाउँदा भाग्यमानी ठानेकी छु,’ अनिशाले केशरीप्रति आभारी हुँदै भनिन् । 

सात कक्षा पढ्दादेखि खेलकुदतिर लागेकी अनिशाले राष्ट्रपति रनिङ सिल्ड केन्द्रस्तरमा खेलेको यो तेस्रो पटक हो । गत वर्ष नै ट्रिपलजम्पको स्वर्ण जितेकी थिइन् । रेकर्ड भने बनाउन सकिनन् । त्यसभन्दा अघिल्लो संस्करणमा रिलेमा स्वर्ण जितेर फर्केकी थिइन् । ती दुई संस्करण उनले लुम्बिनी प्रदेशबाट खेलिन् । 

यसपालि उनले बागमती प्रदेशको प्रतिनिधित्व गरिन् । अनिशा राजधानीको मनमैंजुस्थित लालीगुराँस नेसनल एकेडेमीमा अध्ययन गर्छिन् । ११ सकेर १२ कक्षाको तयारीमा छिन् । त्यसले गर्दा उनले बागमतीबाट खेल्ने अवसर पाइन् । 

Anisha breaking the record of 18 years४–४ स्वर्ण जितेका बागमती प्रदेशका अनिशा र प्रवीण रानामगर पदकका साथ ।

यसपल्टको राष्ट्रपति रनिङ सिल्डमा बागमती नै टिम च्याम्पियन भयो । बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य जितेर सिल्ड उचाल्यो । त्यसमा एथलेटिक्सको १२ स्वर्ण, ४ रजत र ३ कांस्य समावेश छ । एथलेटिक्ससहित भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा सात प्रदेशका ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

अनिशाले ट्रिपलजम्पमात्र होइन, रिलेका दुई इभेन्टमा पनि कीर्तिमान बनाइन् । उनले ४ गुणा १०० मिटर (अनिशा, दिना गोपाली, भगवती खड्का र सुरुचि मोक्तान) र ४ गुणा ४०० मिटर (अनिशा, दिना, भगवती र अस्मिता भुजेल) मा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । लङजम्पमा पनि स्वर्ण जितेकी अनिशाले ४०० मिटर दौडमा भने रजतमा सीमित भइन् । कुल ४ स्वर्ण र १ रजत जितेकी उनको अबको लक्ष्य सिनियर राष्ट्रिय कीर्तिमानतिर छ । भन्छिन्, ‘अन्तर्राष्ट्रिय खेलाडी बन्ने धोको छ । त्यसका लागि धेरै मिहिनेत त गर्नुपर्छ ।’ 

बागमतीबाट एथलेटिक्समा सहभागी २२ खेलाडीमध्ये ९ जना त लालीगुराँस नेसनल एकेडेमीकै थिए । उनीहरूलाई प्रशिक्षण गराइरहेका प्रशिक्षकद्वय देवी बस्नेत र सीताराम चौधरी यस रनिङ सिल्डमा आफ्ना खेलाडीले एथलेटिक्समा राम्रो प्रदर्शन गरेको सुनाए । अब सिनियर इभेन्टमा पनि उनीहरूले राम्रो प्रदर्शन दिनसक्ने प्रशिक्षक बस्नेतको अपेक्षा छ । लालीगुराँसले पनि खेलकुदमा एकदमै लगानी गरिरहेको छ । विभिन्न खेलका खेलाडीलाई छात्रवृत्ति दिएर अध्ययनसँगै प्रशिक्षणमा सहभागी गराइरहेको बस्नेत बताउँछन् ।

ट्रिपलजम्पमा अनिशालाई चुनौती दिएकी लुम्बिनीकी पिन्जु चौधरीले १०.३५ मिटर र कर्णालीकी सरिता शाहीले १०.१३ मिटर जम्प गरेर क्रमशः रजत र कांस्य पदक जिते । अनिशाले जस्तै बागमतीका लागि प्रवीण रानामगरले ४ स्वर्ण जिते ।

उनले १००, २०० मिटर दौड, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेका हुन् । प्रवीणले १०० र रिलेका दुई इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । शुक्रबार १०० मिटर रिलेमा प्रवीणसहित सन्त दराई, सुविन लामा र नीरज शाहको बागमती टिमले ४३.४ सेकेन्डको कीर्तिमान बनायो । उनीहरूले २०८० सालमा सुजल, सुदीप थारू, तुल्सीराम चौधरी र रोहित गुप्तासम्मिलित लुम्बिनीले बनाएको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । 

यसपटक एथलेटिक्समा कुल ९ कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार पुरस्कार प्रदान गरिएको थियो । छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढाले स्वर्ण जिते । उनले १३.७३ मिटर जम्प गरे । सुदूरपश्चिमकै विक्रम नाथ दोस्रो र बागमतीका अविनाश सुनार तेस्रो भएका थिए । ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही विजेता भए । उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे । कोशीका अमिर लिम्बू दोस्रो तथा लुम्बिनीका अरविन्दकुमार यादव तेस्रो बने । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत र कर्णालीकी स्वस्तिका कठायतले कांस्य जिते ।

छात्र २०० मिटर दौडमा प्रवीण पहिलो हुलुम्बिनीका सुभम् वमरेल दोस्रो र गण्डकीका सुदीप भण्डारी तेस्रो भए । छात्रामा बागमतीकी दिना गोपाली स्वर्ण जित्दा लुम्बिनीकी आरुषि भट्टराई दोस्रो र गण्डकीकी अनुष्का अधिकारी तेस्रो भए ।

साबिक विजेता सुदूरपश्चिम दोस्रो

बागमती प्रदेशले सिल्ड उचाल्दा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ कांस्यसहित दोस्रो भयो । लगातार ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेशले तेस्रो स्थानमा रह्यो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जितेको थियो ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसहित पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो । 

उसुमा बागमतीले ८ स्वर्ण, २ रजत र १ कांस्य जितेको थियो । सुदूरपश्चिम दोस्रो भयो । सुदूरले ३ स्वर्ण, ७ रजत र २ कांस्य जित्यो । लुम्बिनीले १ स्वर्ण र २ कांस्य जितेर तेस्रो भयो । चार प्रदेश स्वर्णविहीन बने । तेक्वान्दोमा बागमतीले ७ स्वर्ण र ३ कांस्य जित्यो । सुदूरपश्चिम ३ स्वर्ण र ४ रजतसाथ दोस्रो भयो । तेस्रो स्थानको मधेशले १ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । १२ स्पर्धा रहेको तेक्वान्दोमा बाँकी १ स्वर्ण कर्णालीले जितेको थियो । कर्णालीले १ रजत र ४ कांस्य पदक थप्यो ।

करातेमा पनि बागमती अगाडि रह्यो । बागमतीले ७ स्वर्ण, १ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन भयो ।३ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लुम्बिनी दोस्रो भयो । तेस्रो स्थानको मधेशले २ स्वर्ण र २ रजत जित्यो ।

कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ । बागमती छात्रछात्रा दुवैमा च्याम्पियन बन्यो । छात्र फाइनलमा बागमतीले लुम्बिनीलाई ४४–३० स्कोरले पराजित गर्‍यो । कोशी र मधेश तेस्रो भए । छात्रा फाइनलमा बागमतीले लुम्बिनीमाथि २९–२५ को जित पायो । कर्णाली र सुदूरपश्चिम तेस्रो स्थानमा रहे ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully