काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद हुने

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Widespread sports will be held in Kathmandu district

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद शनिबार सुरु हुने भएको छ ।

प्रतियोगितामा फुटसल, टेबलटेनिस, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी ५ खेलको प्रतिस्पर्धा हुने संयोजक एवं वडा २६ का सदस्य प्रवेश श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

फुटसलमा पुरुषतर्फको मात्र खेल हुनेछ । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ ३ उत्कृष्ट खेलाडीलाई जनही १० हजार पाउनेछन् । टेबलटेनिसमा ८ स्पर्धा समावेश छ । कुल पुरस्कार राशि १ लाख ६० हजार रुपैयाँ छ ।

तेक्वान्दोमा पुरुष/महिलामा १०–१० विधामा भिडन्त हुनेछ । पहिलो हुने टिमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडी जनही १० हजार पाउनेछन् । हरेक स्पर्धामा शीर्ष स्थान हात पार्नेलाई क्रमशः ४ हजार, ३ हजार र २–२ हजार पुरस्कार प्रदान गरिने छ ।

कुरातेमा महिला एकल काता र महिला टिम कुमेतमा खेल हुनेछ । एकल कातामा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५–५ हजार पुरस्कार जित्ने छन् । टिम कुमितेमा विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार हात पार्नेछन् । क्योकुसिन करातेमा पुरुषमा ५ विधामा भिडन्त हुनेछ । शीर्ष चारमा रहने क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार पुरस्कार पाउने छन् । कुल पुरस्कार राशि ११ लाख ९० हजार रुपैयाँ रहेको छ ।

फुटसल लैनचौर मैदान तथा बाँकी चार खेल पनि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा काठमाडौं महानगरपालिकाका सबै ३२ वडा र १० नगरपालिकाका करिब २ हजार खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख खर्च हुने र त्यसमा ३५ लाख आयोजक वडाले बेहोर्ने आयोजक वडा २६ का अध्यक्ष श्यामराज तिवारीले बताए । नपुग रकम विभिन्न संस्थाबाट जुटाउने आयोजकले जनाएको छ ।

अध्यक्ष तिवारीले आफ्नै वडामा सबै खेलको पूर्वाधार रहेकाले प्रतियोगिता आयोजना गर्न सहज हुने बताउँदै बृहत खेलकुदमा उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे ।

पाँचै खेलका लागि संयोजक पनि तोकिएको छ । तेक्वान्दोमा गौरव रजक, फुटसलमा रामबहादुर रजक, क्योकुसिन करातेमा विप्लव थापा, करातेमा सन्तोष श्रेष्ठ र टेबलटेनिसमा सुरज केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ । असार ८ सम्म चल्ने बृहत खेलकुदको पहिलो दिन शनिबार टेबलटेनिस हुनेछ ।

कान्तिपुर

Link copied successfully