राहुलले तोडे २७ वर्षको कीर्तिमान

ज्याभलिन थ्रोमा राहुलले २०५५ सालमा धीरेन्द्रजंगको कीर्तिमानलाई उछिने

जेष्ठ ३०, २०८२

ध्रुव तुलाधर

Rahul broke the record of 27 years

काठमाडौँ — लुम्बिनी प्रदेशका राहुल थारुले दशरथ रंगशालामा बिहीबार ज्याभलिन थ्रोमा २७ वर्षअघिको कीर्तिमान तोडेका छन् । उनले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा ५७ दशमलब ४० मिटर थ्रो गर्दै कीर्तिमान रचे ।

राहुलले २०५५ सालमा धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमानलाई तोडेका हुन् । जुनियर कीर्तिमानबाट खुसी बनेका राहुलको अबको लक्ष्य सिनियरको राष्ट्रिय कीर्तिमान तोड्ने छ । उनले भने, ‘यसपालि रेकर्ड बनाउने भन्ने लक्ष्यमा थिएँ, सफल पनि भएँ ।’ गत वर्ष उनी यही प्रतियोगिताको दोस्रो स्थानमा रहँदै घर फर्केका थिए ।

कपिलवस्तु चन्द्रौटाका राहुल ज्याभलिनमा रमाउन थालेको चार वर्ष भयो । नेपाल आदर्श माविमा कक्षा ११ मा अध्ययनरत उनी साँझको समय गाउँकै मैदानमा ज्याभलिनसँग अभ्यस्त हुन्छन् । युट्युबलाई उनले प्रशिक्षणको साथी बनाएका छन् । थप जानकारीहरू गुरु पद्मा चौधरीसँग फोनबाट लिने गर्छन् । पद्मा पनि आफ्नो जमानाकी ज्याभलिनकी च्याम्पियन हुन् । उनकै प्रशिक्षणमा लुम्बिनीको एथलेटिक्स टोलीले प्रतियोगितामा सहभागिता जनाइरहेको छ । 

प्रशिक्षक चौधरीले भनिन्, ‘जिल्लास्तरमै राम्रो गरेकाले यसपालि केन्द्रमा पनि राहुलले राम्रो गर्ने अपेक्षा थियो, सुरुकै थ्रोमै रेकर्ड बनाइहाले, एकदमै खुसी भयौं ।’ दुई वर्षअघि भने जिल्लास्तरमा पराजित भएकाले राहुल केन्द्रसम्म आउन पाएनन् । तर उनले आफ्नो प्रशिक्षणलाई भने निरन्तरता दिइरहे । भन्छन्, ‘केन्द्रमा पुगेर जुनियरको रेकर्ड बनाउँछु भन्ने सोच थियो ।’

उनले आफ्नो निकट प्रतिद्वन्द्वी कर्णालीका सुशान्त नेपाली र सुदूरपश्चिमका लोकेश एडीलाई निकै पछाडि पारे । सुशान्तले ५१.१५ मिटर र लोकेशले ५०.०२ मिटर थ्रो गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।

ज्याभलिन थ्रोमा सिनियरतर्फ ७०.३९ मिटरको राष्ट्रिय कीर्तिमान छ । यो कीर्तिमान सन् १९९९ मा नेपालमै भएको आठौं साफमा खुर्सिद अहमद खाँले बनाएका थिए । राहुल भन्छन्, ‘राष्ट्रिय कीर्तिमान स्थापित गर्ने धोको छ ।’ एथलेटिक्समा बिहीबार ज्याभलिन थ्रोसहित चार इभेन्टमा जुनियर राष्ट्रिय कीर्तिमान बन्यो । दोस्रो दिनसम्म एथलेटिक्समा ६ कीर्तिमान बनिसकेको छ । 

गण्डकीकी नारायणी भण्डारीले छात्रा ८०० मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । बागमतीकी भगवती खड्का दोस्रो र सुदूरपश्चिमकी संगीता बिक तेस्रो भए ।

छात्र ४ गुणा ४०० मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, नीरज थारु, हस्त सुनार र सन्तबहादुर दराईको टिमले कीर्तिमानी स्वर्ण जित्यो । टिमले निर्धारित दूरी ३ मिनेट ३०.९ सेकेन्डमा पूरा गरेको थियो । यसअघि चन्द्र बोहरा, अमित, कविर बिक र सुकवीरको टिमको नाममा ३ मिनेट ३१.० सेकेन्डको कीर्तिमान थियो । जुन २०८० सालमा बनेको हो । गण्डकी दोस्रो र लुम्बिनी तेस्रो भए ।

रिलेकै छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलको टिमले कीर्तिमान बनाएको हो । टिमले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड खर्चेको थियो । ४ मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा रानाको नाममा थियो । लुम्बिनीका उनीहरूले २०८१ सालमा कीर्तिमान बनाएका थिए ।  

छात्रा ज्याभलिन थ्रोको स्वर्ण सुदूरपश्चिमकी पूजा साउदले जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत र बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जिते । छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले स्वर्ण, कर्णालीका धीरेन्द्र बिकले रजत र लुम्बिनीका आयुश थारुले कांस्य जिते । लङजम्पमा छात्रमा गण्डकीका प्रदीप महतो र छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जिते ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully