महिला भलिबल : एपीएफ र एभरेस्ट सेमिफाइनलमा

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Women's Volleyball: APF and Everest in semi-finals

पोखरा — विभागीय टोली एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान तय गरेको छ ।

पोखरा रंगशालास्थित कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ अन्तर्गत अन्तिम लिग खेलमा एपीएफले स्पेट रामपुरमाथि ३–० को सहज जित निकाल्यो । प्रतियोगिताकै कमजोर टोली मानिएको रामपुरविरुद्ध एपीएफले एकतर्फी प्रदर्शन गरेको थियो । पहिलो दुई सेट समान २५–६ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेटमा २५–७ ले जितेको थियो ।

एपीएफले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

निरुता ठगुन्नाबाहेक अधिकांश समय बेञ्चमा रहेका खेलाडीलाई मौका दिएको एपीएफले जित निकाल्न खासै संघर्ष गर्नुपरेन । दोस्रो हार बेहोरेको रामपुरबाटे यात्रा टुंगिएको छ । पहिलो खेलमा रामपुरले नेपाल पुलिस क्लबसँग सोझो सेटमा हार बहोरेको थियो ।

समूह ‘बी’ विजेता न्यु डायमन्डले सेमिफाइनल पुग्नका लागि गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

बिहीबारै अर्को खेलमा गण्डकीलाई ३–१ को सेटले हराउँदै एभरेस्ट सेमिफाइनल पुगेको छ । एभरेस्टले सेमिफाइनलमा पुलिससँगको भेट सुनिश्चित गरेको हो । २१–२५ ले गण्डकीलाई पहिलो सेट सुम्पिएको एभरेस्टले त्यसपछि लगातार २५–१४, २५–२२, २५–१४ सेट आफ्नो पक्षमा पारेको थियो ।

नेसनल स्पोर्ट्स एकेडेमीको आयोजना र अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल शुक्रबार हुनेछ ।

कान्तिपुर

Link copied successfully