नेपालको खेल हेर्न बेलायतका विभिन्न स्थानबाट नेपाली दर्शक स्टकल्यान्डको डन्डीमा ओइरिएका थिए
डन्डी, स्कटल्यान्ड — मधुसूदन भट्टराई ८९ वर्षका भए । नेपालले डन्डीमा नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्ध खेलेको विश्वकप क्रिकेट लिग–२ क्रिकेटका खेल हेर्न उनी १५ माइल टाढाको सहर आरब्रोथबाट आउँथे । नेपालले स्कटल्यान्ड ‘ए’ विरुद्ध खेलेका दुई अभ्यास खेल पनि उनले छुटाएनन् ।
विश्वव्यापी फ्रेन्चाइज क्रिकेटको लहर छ । यसमा चियरलिडरको प्रभाव छुट्टै छ । तर भट्टराई फोर्टहिलस्थित फोरफारसायर क्रिकेट क्लबमा नेपालका खेलहरूमा फरक आकर्षण बने । नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक चौका र छक्कामा होस् वा विकेटमा लिँदा उनी शंख फुकेर नेपाली टोलीलाई हौस्याइरहेका हुन्थे ।
फोर्टहिलमा नेपालको खेल चलिरहेको अवस्थामा यदि तपाईंको ध्यान खेलमा केन्द्रित थिएन भने भट्टराईले फुकेको शंख ध्वनिले नेपालको सफलताको संकेत आइसकेको हुन्थ्यो । दर्शकमाझ उनी लिडर जस्तै छन् । अन्य नेपाली समर्थक उनको शंख फुकाइलाई पछ्याइरहेका हुन्छन् ।
नेपालको खेल हेर्न बेलायतका विभिन्न स्थानबाट दर्शक ओइरिएका थिए । फोर्थहिलमा इंग्ल्यान्डको लन्डन, लिभरपुलसहित स्कटल्यान्डका ग्लास्गो, एबरडिन, एडेनबराबाट खेल हेर्न दर्शक आइपुगेका थिए । आयरल्यान्डबाट पनि दर्शकहरू खेल हेर्न पुगे । स्कटल्यान्ड क्रिकेटले डिभिजन २ का खेलहरूको मूल्य २० पाउन्ड तोकेको थियो । नेपाली दर्शककै कारण क्रिकेट स्कटल्यान्डले राम्रो आयस्रोत बटुलेको थियो ।
खुला मैदानमा दर्शकले सजिलै खेल हेर्न पाएका थिए । तर नेपालले स्कटल्यान्डविरुद्धको पहिलो खेल २ सय ९७ रन पछ्याउँदै जितेपछि दर्शक मैदानभित्रै प्रवेश गरी खेलका नायक करण केसीलाई बोकेका थिए । त्यसपछि नेपाल क्रिकेट संघ र स्कटल्यान्ड क्रिकेटले बाँकी खेलमा मैदानभित्र नछिर्न दर्शकलाई अपिल गर्यो । मैदान दर्शकभित्र छिर्नुलाई अपराध मानिन्छ ।
पहिलो खेलपछि बाउन्ड्रीलाइन बाहिर बार लगाइएको थियो । फोरफारसायरको दर्शक क्षमता एक हजारको थियो । जुन २ र ८ को खेलमा झन्डै ७–८ सय दर्शक मैदान आए, त्यसमा अधिकांश नेपाली थिए । अब नेपालले सोमबार देखि ग्लास्गोमा स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । नेपालले सोमबार नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।
नेपालले लिग २ मा स्कटल्यान्डसँग आफ्नो पहिलो खेल खेलिरहँदा स्कटल्यान्ड क्रिकेटले आफ्नो सामाजिक सन्जालमा नेपाली दर्शकले खेल हेरिरहेको भिडियो पोस्ट गरेको थियो । त्यसमा एउटा कमेन्टमा लेखिएको छ, ‘स्कटल्यान्डमा क्रिकेट हुँदा स्टेयवार्ड (सुरक्षाकर्मी) हरू प्रायः दुःख नगरी पैसा कमाइरहेका हुन्छन् । उनीहरू कामै नगरी तलब पकाइरहेका हुन्थे । अरू बेला उनीहरूको काम मैदान वरिपरि हिँडडुल गर्नुमात्र हुन्थ्यो र खेल सकिएपछि सुतेका दर्शक बुढाबुढीलाई उठाउनु हुन्थ्यो । तर, नेपालको खेलले उनीहरूलाई व्यस्त बनाएको थियो ।’
त्यो कमेन्टका अनुसार सुतेर खाइरहेका सुरक्षाकर्मीले नेपालको खेल हुँदा व्यस्त रहे । नेपालको खेल नभएको समयमा उनीहरूको काम ‘शालिक’ जस्तै उभिनुहुन्थ्यो ।
लन्डनमा बस्दै आएका विनोदविकास सिम्खडाले विदेशी भूमिमा नेपालले खेलेका प्रमुख खेलहरू हेर्दै छुटाउँदैनन् । डन्डीमा लिग २ को खेल हेर्न उनीसहित १० जनाको टोली आइपुगेको थियो ।
‘यहाँ जति आएका छन्, क्रिकेट बुझ्ने प्रशंसक नै छन्, किनभने धेरै त डन्डी बाहिरबाट आएका छन् र उनीहरू क्रिकेट बुझेर नै यहाँ आएका हुन्, कति जना रातभरि गाडी चलाएर बिहानको खेल हेर्न आइपुगेका छन्,’ सिम्खडा भन्छन्, ‘मेरा लागि भन्नुहुन्छ भने नेपाली क्रिकेट टोली यहाँ आउँदा हामीलाई नेपालको खेल हेर्ने बहाना मिलेको छ । अरू बेला टाढा टाढा पुग्नुपर्थ्यो, अहिले नजिक आएर हेर्ने मौका मिलेको छ ।’
उनी नेपाली क्रिकेटले विदेशमा बसेका नेपालीलाई खुसी दिएको सुनाउँछन् । नेपालमा मात्र नभई विदेशमा पनि दर्शकको हिसाबमा नेपाली टोलीले घरैमा खेलेको अनुभूति पाउने सिम्खडाको बुझाइ छ ।
विशाल गौतम दुई वर्षअघि लन्डन आएका थिए । उनी नेपालमा हुँदा फुटबल र क्रिकेट हेर्न मैदानमा पुग्थे । उनी नेपाली क्रिकेट जहाँ, त्यहाँ नेपाली समर्थक अवश्य पुग्ने गरेको बताउँछन् । डन्डीमा समर्थकले जुन उत्साह देखाए त्यसले नेपाली क्रिकेटको नतिजामा पनि ठूलो प्रभाव पारेको उनको दाबी छ ।
‘२०१३ देखि मैले काठमाडौंमा नेपालका सबै खेल हेर्दै आएको थिएँ, कुनै पनि खेल छुटाएको थिइनँ । विदेशी भूमिमा मैले पहिलो पटक नेपालको खेल हेर्ने मौका पाएँ,’ उनी भन्छन्, ‘अर्काको देशमा नेपालको क्रिकेट हेर्दा एउटा छुट्टै भाइब्स आउँछ । विद्यार्थी जीवन, काम अनि व्यस्त जीवनको तनावलाई नेपाली क्रिकेटले बिर्साइदिन्छ । त्यतिमात्र होइन, नेपाली टोलीले यसपटक धेरै राम्रो खेलेकाले झनै रमाइलो लागिरहेको छ ।’
यस क्षेत्रमा १७ वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएका सागर भण्डारी ग्लास्गोमा हुने पहिलो खेलमा नेपाली दर्शक अझै बढी आउने विश्वास लिन्छन् । ‘डन्डी अलिक टाढा र कुनामा पर्छ, ग्लास्गोमा नेपाली धेरै छन्,’ उनले सुनाए, ‘यहाँका धेरै नेपाली रेष्टुरेन्ट व्यवसायसँग सम्बन्धित छन् । शनिबार र आइतबार रेष्टुरेन्ट व्यस्त हुने गर्छ र सोमबार विदा बस्ने चलन छ । त्यसैले ग्लास्गोको पहिलो खेलमा धेरै दर्शक आउने अपेक्षा गरेको छु ।’
‘देशसँग जोडिने बहाना बन्यो क्रिकेट’
शिला त्रिपाठी, रिसर्च फेलो, स्वास्थ्य विज्ञान, एबरडिन विश्वविद्यालय
विदेशमा बसिरहेका नेपाली मान्छेलाई देशसँग जोडिने बहाना चाहिएको हुन्छ । चाहे त्यो चाडपर्व होस् फिल्म, सांगीतिक क्षेत्रका मान्छे आएका मौका या नेपाली क्रिकेट टिम आएर खेलेको बेला । जो आउँछन् उनीहरू नेपाल, देश बोकेर आएका हुन्छन् । त्यसमा भावनात्मक जोडिएको हुन्छ ।
पछिल्लो समय नेपाली क्रिकेट राष्ट्रिय गौरव बनेको अवस्थामा त्यो टिम यहाँ आउनु भनेको यहाँ बसिरहेका नेपालीलाई चाडपर्वभन्दा माथि भयो । खेल आफैंमा बुझ्ने, खेललाई फ्लो गर्ने एउटा जमात हुन्छ । उनीहरूका लागि क्रिकेट टिम आउनु ठूलो विषय भइहाल्यो । जसले क्रिकेट कहिले हेरेका छैनन् अनि बुझेका पनि छैनन्, उनीहरूलाई भने नेपालको राष्ट्रियतासँग जोडिने माध्यम बन्यो ।
स्कटल्यान्डमा विभिन्न सहरमा छरिएर बसेका नेपाली समाजलाई क्रिकेट टोलीले जोड्ने काम गरेको छ । डन्डी भनेको सानो सहर हो । अरू बेलामा ठूलो जमात डन्डीमा आउने भन्ने नै हुँदैन । डन्डीले यति ठूलो संख्यमा नेपाली भेला कहिल्यै देखेको थिइनँ । नेपाल–स्कटल्यान्ड फ्रेन्डसिप फोरम भन्ने नेपाली समाज छ, त्यसमा १५० देखि २ सय भन्दा बढी सदस्य कहिल्यै पुग्दैन, जबकि मैदान पुगेरै खेल हेर्ने ५–७ सय नेपाली थिए ।
डन्डीको सबैजना सधैं जान पनि मिलेन । धेरै नेपाली दर्शक ग्लास्गो, एडिनबरा, एबरडिनलगायत स्थानबाट आउनुभयो । त्यो भनेको डन्डी र यहाँका नेपाली समाजका लागि बाहिरी मान्छे स्वागत गर्न पाउनु पनि ठूलो विषय भएको हो । यसले अन्य क्षेत्रको नेपाली समुदायलाई पनि यहाँका नेपाली समाजसँग जोड्न मदत गरेको महसुस गरेको छु ।
नेपाली टोली यहाँ आए पनि प्रदर्शन त्यसअनुरुप नभएको भए खेलप्रतिको बढेको रुचि, उत्साह घट्थ्यो होला । यो हाम्रो टोली हो, यसलाई समर्थन गर्नुपर्छ भनेर यहाँ नेपालीहरू नेपालले खेलेका अभ्यास खेलदेखि हेरिरहेका छन् । त्यसमाथि खेलेर राम्रो गरिदिनु भनेको सोचेभन्दा बढी भयो । त्यसैमाथि खेल निकै उच्च शैलीको भयो, जसले समर्थकलाई झनै उत्साही बनायो । खेलाडीको स्तर चिनेको मान्छेले मात्र खेल बुझेको हुन्छ । जसले खेल बुझेको हुँदैन, उसले चौका र छक्कामात्र गनेको हुन्छ, उसका लागि पनि खेल निकै जोसिलो भयो ।
नेपाली टोली आउनुअघिसम्म यहाँ डन्डीमा क्रिकेट खासै छलफल गर्ने विषय बनेको थिएन । यहाँ क्रिकेट मैदान छ भनेर धेरै नेपालीलाई थाहा थिएन । युवाले क्रिकेटको विषयमा कुरा गर्थे तर पारिवारिक र सामाजिक भेटघाटमा क्रिकेटको गफ हुँदैनथ्यो । अब प्रत्येक भेटघाटमा क्रिकेटकै गफ हुने मैले कल्पना गरिसकेको छु । यसले स्कटल्यान्डमा जन्मेर र हुर्केका नेपालीलाई पनि नेपाली क्रिकेटको महत्व बुझाउने छ ।
