काठमाडौँ — मधेश प्रदेशले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत छात्र क्रिकेटको उपाधि जितेको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा मधेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।
लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । मधेशका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन जोडे । लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो । लुम्बिनीका आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन जोडे । मधेशका कृष्ण महतोले ३, खिलराज सर्राफ र कप्तान कमलेश दासले २–२ तथा मोहम्मद ओजैफ अलीले १ विकेट लिएका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे । राखेपको आयोजनामा भएको यु–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो । विद्यालय खेलकुदमा क्रिकेटसहित एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस र बास्केटबलको प्रतिस्पर्धा भएको थियो ।
