बागमतीलाई स्क्वास पुरुष टिम इभेन्टको उपाधि

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Bagmati wins the squash men's team event title

काठमाडौँ — बागमती प्रदेशले १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्ट स्वर्ण जितेको छ । एक दिनअघि बागमती महिला टिम इभेन्टमा पनि च्याम्पियन बनेको थियो । महिला टिम इभेन्टमा गण्डकी प्रदेश उपविजेता तथा कोशी र कर्णाली प्रदेश संयुक्त तेस्रो स्थानमा रहे ।

पुरुष टिम इभेन्टको फाइनलमा बागमतीले कोशी प्रदेशलाई ३–० ले हरायो । अरहान्तकेशर सिंहले नैनबहादुर मगरलाई ११–२, ११–३, ११–५ ले, पासाङ ब्लोनले सूर्यकुमार राईलाई ११–३, ११–४, ११–६ ले र राकेश परियारले खेमराज राईलाई ११–४, ११–५, ११–३ ले हराएर बागमतीलाई च्याम्पियन बनाए । बागमती टिममा प्रज्वल प्रधान र कोशीमा शक्ति लिम्बू पनि रहेका थिए ।

सुदीपबहादुर सिह, गौरव कटवाल, यम राना र ज्ञानु चौधरीसम्मिलित लुम्बिनी प्रदेश तथा दीपक थापा, हेसिल घिसिङ, सञ्जिव थापा मगर र कृष श्रेष्ठसम्मिलित मधेश प्रदेशको टिम संयुक्त तेस्रो स्थानमा रहे ।

सातदोबाटोस्थित स्क्वास हलमा भइरहेको प्रतियोगितामा बिहीबार व्यक्तिगत स्पर्धा पनि सुरु भएको छ । पहिलो चरणमा बाइ पाएका नेपालका नम्बर एक अरहान्तले कर्णालीका हिमाल जिसीलाई ११–१, ११–२, ११–२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । कोशीका सूर्यकुमार राई पनि बागमतीका प्रज्वललाई ११–९, ५–११, ११–५ र ११–७ ले हराएर अन्तिम आठमा पुगे ।

पहिलो चरणमा कोशीका नैनबहादुर मगरले लुम्बिनीका गौरव कटवाललाई ११–५, ११–२, ११–५ ले, कर्णालीका जैन जिसीले कोशीका शक्तिलाई ११–८, ११–४, ११–८ ले, कोशीका खेमराजले गण्डकीका राजु श्रेष्ठलाई ११–३, ११–६, ११–८ ले, कोशीका सूर्यकुमारले लुम्बिनीका यमलाई ११–६, ११–६, ११–६ र मधेशका सञ्जीवले गण्डकीका नवराज थापालाई ११–८, ११–६, ११–४ ले हराएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully