पुरुषोत्तम वेस्टर्न एसियन जुनियर चेसमा दोस्रो

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Purushottam 2nd in Western Asian Junior Chess

काठमाडौँ — नेपालका युवा खेलाडी सिएम पुरुषोत्तम सिलवालले श्रीलंकामा भएको द वेस्टर्न एसियन जुनियर ब्लिट्ज चेस च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी ९ राष्ट्रका ५९ खेलाडीको सहभागिता थियो ।

द्रुत गतिको ब्लिट्ज चेसमा आठौं वरीयताका २१३० रेटेड क्यान्डिडेट मास्टर पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी २३७९ उच्च रेटेड इन्टरनेसनल मास्टर भारतका मायंक चक्रवर्तीलाई पराजित गरेका थिए । उज्बेकिस्तानका २१२० रेटेड एफएम अबु खाकिमोभ अकबर्लीले ६ अंक र प्रोग्रेसिभ २५.५ प्वाइन्ट जोडेर पहिलो स्थान हासिल गरे ।

पुरुषोत्तमले प्रतिस्पर्धामा बंगलादेशका २१४२ रेटेड आईएम मनुन रेजानिरसँग एक खेल गुमाए भने ६ खेलमा उत्कृष्ट जित हासिल गर्दै सात चरणको खेलमा ६ अंक २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर दोस्रो स्थान हासिल गरेका हुन् ।

विश्व बुद्धिचाल महासंघ तथा एसियन चेस फेडेरेसनको तत्वावधानमा श्रीलंकन चेस फेडरेसनले आयोजना गरेको प्रतियोगितामा पुरुषोत्तमसँग हार बेहोरेका भारतीय आइएम मायांक चक्रवर्ती तेस्रो स्थानमा समेटिए ।

यसअघि फिडेको आधिकारिक अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालले पाएको ठूलो सफलतामा रुपेश जैशवालले सिंगापुरमा र्‍यापिडतर्फ दोस्रो र ब्लिट्जमा तेस्रो स्थान हासिल गरेका थिए । कृष्ण थापाले नेपालमा भएको एसियन एमेच्योर च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेका छन् ।

सिएम पुरुषोत्तम बिहीबारदेखि नेपालमा हुने नेसनल युथ च्याम्पियनसिपमा भाग लिन एसियन जुनियर र्‍यापिड च्याम्पियनसिप छाडेर बुधबार स्वदेश फर्केका छन् । उनलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

कान्तिपुर

Link copied successfully