पोखरा — विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह ‘ए’ मा पुलिसले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा हरायो । यसअघि उद्घाटन खेलमा पनि पुलिसले एपीएफमाथि सोझो सेटमै जित पाएको थियो ।
त्रिभुवन आर्मी क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि रामपुरलाई स्थान दिइएको थियो । तर, राष्ट्रिय टोलीका अनुभवी खेलाडीसहित कोर्टमा उत्रिएको पुलिसले रामपुरमाथि एकतर्फी दबाब कायम राख्यो । पुलिसले तीनै सेट सहजै २५–७, २५–९, २५–९ ले आफ्नो बनायो । पुलिसले फाइनल पुग्नका लागि समूह ‘बी’ उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबारै समूह ‘बी’ मा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले गण्डकी भलिबल संघलाई ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा एभरेस्ट क्लबमाथि सोझो सेटमा जित पाएको न्यु डायमन्ड दोस्रो जितपछि समूह ‘बी’ को विजेता बनेको हो । न्यु डायमन्डले २५–८, २५–१०, २५–१२ ले सेट जितेको थियो ।
अब न्यु डायमन्डले फाइनल पुग्नका लागि एपीएफ र स्टेप रामपुरबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीका लागि प्रतियोगितामा पहिलो खेल थियो । गण्डकीको यात्रा बिहीबार एभरेस्टविरुद्धको खेलपछि तय हुनेछ ।
