लाओससँग नेपालको बिर्सनलायक प्रदर्शन

लाओस २–१ नेपाल

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Nepal's forgettable performance against Laos

काठमाडौँ — नेपाली फुटबलले गर्व गर्दै आएको थियो, लाओसविरुद्ध हाम्रो टिम अपराजित छ । अब त्यस्तो दाबी गर्न सकिने छैन, किनभने नेपाल एसिया कप फुटबल छनोटको तेस्रो चरणमा मंगलबार लाओससँग २–१ ले पराजित भएको छ । यो हार नेपालका लागि बिर्सनलायक र स्तब्धपूर्ण रह्यो ।

राजधानी भिएनटानको न्यु लाओस नेसनल स्टेडियममा भएको खेलमा पाहुना टिम नेपालको प्रदर्शन गतिलो रहेन । यसअघि दुई देशबीचको ६ खेलमा नेपाल अपराजित थियो । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसको प्रशिक्षणमा रहेको टोलीले त्यो क्रमलाई कायम राख्न सकेन । हारले अस्ट्रेलियाली प्रशिक्षकको नेतृत्वमा नेपालले सिंगापुर र हङकङविरुद्ध निकालेका दुई सानदार नतिजा पनि ओझेलमा परेको छ । 

लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो नै पहिलो पटक हो । लाओसको जितमा दमोथ थोङखामसभाटले १३ औं मिनेटमा गोलको खाता खोले । खेलको ४९ औं मिनेटमा पिटर फाङ्थाभोङले दोस्रो गोल थपेका थिए । नेपालका लागि ७३ औं मिनेटमा मनीष डाँगीले पेनाल्टीबाट एक गोल फर्काए । त्यो हार टार्न पर्याप्त रहेन । 

मनीषले नेपालका लागि गरेको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । यसै खेलबाट नेपालका लागि कृतिशरत्न छुन्जुले डेब्यु गरेका छन् । उनी मनीषको स्थानमा ७४ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका हुन् । नेपालले तेस्रो चरणको छनोटको समूह ‘एफ’ मा खराब सुरुआत पनि लिएको छ र लगातार दोस्रो हार बेहोरेको छ । 

नेपाल आफ्नो पहिलो खेलमा मलेसियासँग हारेको थियो । अब नेपालसामु समूहमा सम्मानजनक स्थितिमा रहन उच्च प्रदर्शन आवश्यक पर्नेछ । नेपाल दुई खेलबाट अंकविहीन हुँदा ४ टिमसम्मिलित समूहको पुछारमा झरेको छ । समूहमा नेपालमात्र जितविहीन छ । यसले प्रशिक्षक रसमाथि दबाब सिर्जना गर्नेछ । 

श्रीलंकालाई छाडेर अन्य दक्षिण एसियाली देशका लागि मंगलबारको दिन सुखद रहेन । टिमोर लिस्टेले माल्दिभ्सलाई १–०, ब्रुनाईले भुटानलाई २–१ र हङकङले भारतलाई १–० ले हराएको थियो । यस्तै सिंगापुरले बंगलादेशलाई २–१ र म्यानमारले पाकिस्तानलाई १–० ले पराजित गर्‍यो । श्रीलंकाले भने चाइनिज ताइपेईमाथि ३–१ को विजय नतिजा निकाल्यो ।

कान्तिपुर

Link copied successfully