अन्तिम लिग खेलमा गोल्डेनगेट विजयी

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Goldengate won last league match

काठमाडौँ — गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा बुधबार सामाखुसी युथ क्लबलाई पराजित गरेको छ ।

यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको गोल्डेनगेटले सामाखुसीलाई ८२–५८ स्कोरले हराएको हो ।

लिग चरणमा गोल्डेनगेटको यो लगातार नवौं जित हो । ६ टोलीसम्मिलित लिग डबल राउण्ड रोबिनका आधारमा भएको थियो । टाइम्स बास्केटबल क्लबलसँग पहिलो खेलमा पराजित भएको गोल्डेनगेटले त्यसपछि सबै खेल जितेको छ ।

गोल्डेनगेट १० खेलमा ९ जित र १ हारबाट १९ अंक जोड्दै लिगमा शीर्षस्थानमा रह्यो । गोल्डेनगेटले लिगमा दोस्रो भएको टाइम्ससँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुर कभर्डहलमा बुधबार गोल्डनेगेटले चारै क्वाटरमा अग्रता बनायो । पहिलो क्वाटरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेटले दोस्रो क्वाटर २७–१६ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो २२–१५ र चौथो १७–१३ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले सबैमा अग्रता बनायो ।

गोल्डेनेगटका विवेक श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । विवेकले १४स्कोर गरे । सामाखुसीका प्रज्वल महर्जनले १७ स्कोर गरे ।  

कान्तिपुर

Link copied successfully