धरान — कोशी प्रदेशस्तरीय खुला बास्केटबल असार ५ देखि धरान उपमहानगरपालिकामा हुने भएको छ । असार ८ सम्म धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा हुने प्रतियोगितामा कोशी प्रदेशका टिमले मात्र भाग लिन पाउनेछ ।
धरान बास्केटबल संघले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशमा बास्केटबल खेलको प्रवर्द्धन गर्न र बास्केटबललाई व्यावसायिक रूपमा अघि बढाउन प्रतियोगिता गरिएको संयोजक विकास चाम्लिङले बताए । सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुंगा, उदयपुर, भोजपुरका टिम भाग लिने बताए । विजेताले २ लाख र दोस्रोले १ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।
