काठमाडौँ — कृषि विकास बैंक ‘ए’ ले १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको टिम पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी शुटआउटबाट भएको थियो ।
टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा पुरुष फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्यो । निर्धारित समयको १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल वायुसेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराएर तेस्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पारे ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । निर्धारित समय १–१ को बराबरी भएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाए ।
फुटसलसँगै १४ औं कर्मचारी खेलकुद सकिएको थियो । फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी ३ खेलको प्रतिस्पर्धा भएको थियो । ब्याडमिन्टनमा ६ स्पर्धा थिए । त्यसमा नेपाल विद्युत प्राधिकरणले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । टेबलटेनिसमा ४ स्पर्धामा खेल भएको थियो । राष्ट्रिय वाणिज्य बैंकले ३ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण जिते ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कृत गरे । समापनमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गरिएको थियो ।
