वास्तविक परीक्षण लाओससँग

नेपाली फुटबल टोलीले एएफसी एसिया कप छनोटको तेस्रो चरणमा मंगलबार लाओसको सामना गर्ने, अहिलेसम्म नेपाल यो प्रतिद्वन्द्वीसँग अपराजित

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

The real test is with Laos

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका लागि भुटानपछि अर्को प्रिय प्रतिद्वन्द्वी हो, लाओस । यो यस्तो टिम हो, जसका विरुद्ध नेपालले अहिलेसम्म हार बेहोर्नुपरेको छैन । नेपाल र लाओसबीच अहिलेसम्म ६ खेल भएको छ । त्यसमध्ये नेपाल चारमा विजयी छ भने दुईमा बराबरी । त्यसमध्ये एक जित टाइब्रेकरमा पाएको हो ।

नेपालले एएफसी एसिया कप छनोटको तेस्रो चरणमा मंगलबार यही लाओस टिमको सामना गर्दै छ । यो अवसर हुनेछ, यही प्रतिद्वन्द्वीमाथि दोहोर्‍याएर प्रभुत्व कायम राख्ने । खेल लाओसको राजधानी भ्यालेन्टाइनस्थित लाओ नेसनल रंगशालामा । खेल सुरु हुनेछ, नेपाली समयअनुसार साँझ पौने ६ बजे । तेस्रो चरणको छनोटमा नेपालको यो दोस्रो खेल हुनेछ । 

यसअघि नेपाल मलेसियाविरुद्ध पराजित भएको थियो । यस्तोमा लाओसविरुद्ध प्राप्त हुने जितले नेपाली टोलीमा ‘फिल गुड’ फ्याक्टर फर्कन सक्नेछ । हारमा भने नेपाल स्तब्ध हुने निश्चित छ । नेपाल रहेको समूह ‘एफ’ मा भियतनाम पनि छ । 

भियतनाम समूहको सबैभन्दा बलियो टिम हो । एउटै टिमले मात्र सन् २०२७ को एसिया कपमा प्रवेश पाउने छ । 

भियतनाम बलियो र स्वाभाविक प्रत्याशी हो । बाँकी तीन टिमको लक्ष्य सक्दो राम्रो प्रदर्शन हुनेछ । यति हुँदाहुँदै पनि नेपाली टोलीका प्रशिक्षक म्याट रस नेपाली टिमले अन्तिम समयसम्म आफ्नो लडाईं कायम राख्नुपर्ने मान्छन् । यसबीच उनको नयाँ प्रतिक्रिया छ, ‘लाओसविरुद्धै खेलबाट मेरो वास्तविक परीक्षण हुनेछ ।’ रसले नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएयता अहिलेसम्मको प्रदर्शन आशलाग्दो छ । उनको नेतृत्वमा नेपालले तीनपल्ट खेलेको छ । त्यसमा एक जित, एक बराबरी र एक हार रहेको छ । हार त मलेयिाविरुद्ध नै हो । मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध जित र हङकङविरुद्ध बराबरीले रस आफैं उत्साही हुनुपर्नेछ । 

उनी भन्छन्, ‘हाम्रो लक्ष्य भनेकै लाओसलाई हराउनु हो । मलेसियाविरुद्धको खेलमा पनि हाम्रो प्रदर्शन खासै नराम्रो होइन, तर रणनीतिक रूपमा हामी कमजोर रह्यौं । हामीले यसका लागि तयारीमा पर्याप्त समय नै पाएनौं । यसमा मेरो पनि भुल होला । अहिले सिंगापुरविरुद्धको खेलपछि हामीले यो समस्या पनि धेरै हदसम्म समाधान गरेका छौं ।’

‘सिंगापुरविरुद्धको खेलपछि प्रमाणित भएको छ, हामी माथिल्लो स्तरमा पनि राम्रो मात्र खेल्न सक्ने होइन, जित नै निकाल्न सक्छौं । अहिलेका टिममा हाम्रो आक्रमण राम्रो छ, यस्तै रक्षापंक्ति मजबुत छ । गोलरक्षण त उत्कृष्ट नै छ,’ उनी भन्छन, ‘हामीले आफ्नो प्रदर्शनमा सुधार कायम राख्नुपर्छ ।’ प्रशिक्षक रसले छनोटमा कुल १३ अंक बटुल्ने योजना बनाएका छन् । 

सिंगापुर र हङकङविरुद्ध लयमा देखिएका कप्तान किरण लिम्बू भन्छन्, ‘हामी कुनै पनि टिमलाई कमजोर मान्ने पक्षमा छैनौं । सबैलाई सम्मान नै गर्छौं । मैले सुनेको छु, लाओस टिममा अहिले धेरै परिवर्तन भएको छ । हामीले पनि उनीहरूको खेलको विश्लेषण गरेका छौं । पक्कै पनि हाम्रो लक्ष्य भनेको जित नै हुनेछ ।’

कान्तिपुर

Link copied successfully