प्रचण्ड कप महिला भलिबल : पुलिस र न्यु डायमन्डलाई सफलता

जेष्ठ २७, २०८२

दीपक परियार

Prachanda Cup Women's Volleyball: Success for Police and New Diamond

पोखरा — पोखरामा मंगलबार सुरु प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो । पुलिसले २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा एपीएफले १८–१५ को अग्रता लिए भए पनि त्यसलाई कायम राख्न सकेन । अन्तिम क्षणमा तीव्र लय समातेको पुलिसले २७–२५ ले सेट आफ्नो पक्षमा पारेर २–० को अग्रता बनायो । तेस्रो तथा अन्तिम सेटमा भने पुलिसले पूर्ण नियन्त्रण जमाउँदै २५–१७ को सहज जित हात पार्‍यो ।

पोखरामा जेठ १५ मा भएको पीएम कप एनभीए लिग भलिबलको उपाधि पुलिसले जितेको थियो ।

मंगलबार दोस्रो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई २५–११, २५–१८, २५–१० को सेटमा हरायो । राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा बुधबार पुलिसले स्टेप रामपुर क्लबसँग खेल्नेछ । अर्को खेलमा न्यु डायमन्ड र गण्डकी प्रदेशको भेट हुनेछ ।

नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको आयोजनामा सुरु भएको प्रतियोगितामा यसपल्ट नयाँ टोली स्टेप रामपुर समावेश भएको हो । आर्मीले प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजकले रामपुरलाई अवसर दिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाको विकासमा सकारात्मक भूमिका खेल्ने बताए । उनले यस्तो प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उजागर, महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा पुलिस, एपीएफ, गण्डकी प्रदेश, न्यु डायमन्ड, एभरेस्ट र स्टेप रामपुरबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रोले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ तथा विभिन्न विधागत उत्कृष्टले जनही २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully