काठमाडौँ — वीर गणेशमान सिंह १०के रोड रेसको पाँचौं संस्करण असार १४ गते हुने भएको छ । काठमाडौं दरबारमार्गस्थित शेर्पा मल अगाडिबाट सुरु हुने १० किलोमिटर रेस भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः शेर्पा मलमा आएर टुंगिनेछ ।
आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले दौडमा महिला र पुरुषको विधा समावेश रहेको जनाएको छ । दुवैतर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार जित्ने
कमिटीका संयोजक सन्जिव तुलाधरले बताए । चौथोले १० र पाँचौंले ५ हजार पाउनेछन् ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने दौडमा कोर्स रेर्कड कायम गर्ने पहिलो खेलाडीलाई थप १० हजार प्रदान गरिनेछ । महिलातर्फ राजपुरा पछाईंको नाममा ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको नाममा ३१ मिनेट ११.४ सेकेन्डको कोर्स रेर्कड छ ।
प्रतियोगितामा ४ सय ५० भन्दा बढी खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक वीर गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंहले प्रतियोगिताका लागि करिब १५ लाख खर्च लाग्ने बताए । व्यवस्थापक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिताका बारेमा थप जानकारी गराएका थिए ।
