काठमाडौँ — नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा १३ औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियसिप सुरु भएको छ ।
सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा मंगलबार पहिलो दिन पुरुषतर्फ टिभ इभेन्टमा बागमती प्रदेशले दोहोरो जित पायो । बागमतीले कर्णाली र कोशी प्रदेशलाई हरायो । कर्णालीविरद्ध बागमतीका अरहान्त केशर सिंह र पासाङ ब्लोनले सहजैजिते । नेपालका नम्बर एक अरहान्तले जलन जिसीलाई ११–२, ११–७, ११–७ र पासाङले हिमाल जिसीलाई ११–०, ११–३, ११–० ले हराए ।
कोशीविरुद्ध पनि बागमतीका तीन खेलाडीले सोझो सेटमा जित पाए । राकेश परियारले खेमराज राईलाई ११–२, ११–९, ११–४, अरहान्तले नयनबहादुर मगरलाई ११–६, ११–३, ११–३ र पासाङले सूर्यकुमार राईलाई ११–६, ११–५, ११–४ ले पराजत गरे ।
लुम्बिनीले गण्डकी प्रदेशलाई ३–२ ले हरायो । पहिलो खेलमा सुदीपबहादुर सिंहले गण्डकीका आभन श्रेष्ठलाई ११–८, ७–११, १४–१२, ११–९ ले हराएर लुम्बिनीलाई अग्रता दिलाए । गौरव कटवालले गण्डकीका राजु श्रेष्ठलाई ११–९, १३–११, ११–३ ले, गण्डकीका नवराज श्रेष्ठले लुम्बिनीका ज्ञानु चौधरीलाई ११–६, ११–३, ४–११, ५–११, ११–५ ले हराएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशको सहभागिता छ । लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा हुनेछ ।
महिलामा बागमती, गण्डकी, कर्णाली र कोशी गरी चार प्रदेशले भाग लिएको छ । राउन्ड रोबिन लिगमा शीर्षस्थानमा रहेको टिम नै च्याम्पियन बन्नेछ ।
