यु-१४ राष्ट्रिय विद्यालय खेलकुद : एथलेटिक्समा लुम्बिनी च्याम्पियन

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

U-14 National School Sports: Lumbini Champion in Athletics

काठमाडौँ — लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक ४ स्वर्ण जित्दै च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश २ स्वर्ण र ५ रजतसाथ दोस्रो भयो ।

गण्डकी प्रदेश र मधेस प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्यसाथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १–१ स्वर्ण जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो तथा अन्तिम दिन छात्र÷छात्रामा समान ३–३ गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए । सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन् । कोसीकी अस्मिता लाम्गादे दोस्रो तथा मधेसकी वर्षा योञ्जन तेस्रो बने ।

नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले २ मिनेट ०७.४ सेकेन्ड समय निकाले । कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोसीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।

छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेस पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

बास्केटबल : कोशी र बागमतीलाई उपाधि

यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने । त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित ग¥यो । लुम्बिनी तेस्रो भयो ।

छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो । कोशीले तेस्रो स्थानमा चित्त बुझायो ।

विजेतालाई राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छात्र÷छात्रा दुवैमा समान ७–७ प्रदेशका टिम सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully