काठमाडौँ — मधेश प्रदेशका आदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यू–१४ राष्ट्रिय जुनियर विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् । आदित्य छात्र तथा प्रकृति छात्रामा विजेता हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आदित्यले ११.६ सेकेन्डमा दौड पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत र कोशी प्रदेशका अंकित ताजपुरियाले कांस्य जिते । प्रकृतिले १४.६ सेकेन्ड खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले कांस्य जिते ।
छात्र ४०० मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्ड लगाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो र कोशीका प्रियांशु शाह तेस्रो भए । छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्डसहित विजेता भइन् । गण्डकीकी आराध्या चालिसे दोस्रो र बागमती प्रदेशकी शिल्भी नागा तेस्रो बने ।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार विजेता भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो र सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । कर्णालीकी करुणा चन्द दोस्रो र कोशीकी प्रकृति काफ्ले तेस्रो भए ।
कुल १२ विधा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । कोशी, गण्डकी, मधेश र लुम्बिनीले १–१ स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको टेबलटेनिसको छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नब श्रेष्ठ तथा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडी फाइनल पुगे ।
छात्रा डबल्समा बागमतीका अर्सना महर्जन र श्रेया शाक्य तथा कोशीकी स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीले फाइनलमा स्थान सुरक्षित गरे । छात्र/छात्रा सिंगल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ । दशरथ रंगशालामा भएको रग्बीको पहिलो दिन लिग चरणका १२ खेल सम्पन्न भए । सोमबार १४ खेल हुनेछ ।
मूलपानीमा भएको २०–२० ओभरको छात्र क्रिकेटमा कोशीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेट, लुम्बिनीले बागमतीलाई ३ रन र मधेशले कर्णालीलाई ९ विकेटले पराजित गरेका छन् । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडी सहभागी छन् । २५ स्वर्ण, २५ रजत र ३३ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार अपरान्ह भएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता करातेकी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । एरिकाले टर्च बोकेर रंगशाला फन्को मार्दा एसियाली खेलकुदकै कबड्डीकी कांस्य विजेता मानमति विष्ट, १३ औं सागका स्वर्ण विजेता उसुका विजय सिन्जाली, कुस्तीका एलिस च्याम्पियनसिप कुस्तीका ऐतिहासिक कांस्य विजेता सुरेश चुनारा मिसिएका थिए । उद्घाटनमा सातै प्रदेशका टोलीको मार्चपास भएको थियो ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमते रहेका मन्त्री चौधरीले विद्यालय खेलकुद र युवा खेलाडी उत्पादनमा यो महत्त्वपूर्ण प्रतियोगिता रहेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विद्यालय तहबाट खेलकुदको जगलाई बलियो बनाउन जुनियर प्रतियोगिता सुरुआत गरिएको बताए । उनले जिल्ला र प्रदेश तहबाट नै खेलाडी छनोट हुँदै आएकाले प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा निस्कने विश्वास व्यक्त गरे ।
प्रतियोगिता नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्टको सह–आयोजना र नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको हो ।
