काठमाडौँ — २० औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपमा मार्भलस इंग्लिस स्कुलले च्याम्पियन ट्रफी जितेको छ । उमेर समूह यू–९, यू–११, यू–१३, यू–१३ वर्षमाथिका छात्र र छात्राबीच भएको प्रतियोगितामा मार्भलसले ४५ अंक जोडेर च्याम्पियन ट्रफी जितेको हो ।
५ सय ५० विद्यार्थी खेलाडी सहभागी स्पर्धामा मनकामना विद्यालयले ४० अंकसहित दोस्रो र ३८ अंकसहित त्रियोग हाइस्कुल तेस्रो भए ।
अन्नपूर्ण स्कुलमा चार दिन चलेको राष्ट्रिय प्रतियोगिता यू–१३ माथि छात्रमा काठमाडौं प्रज्ञाकुञ्जका कसिभ कार्की, भ्याली पब्लिकका अनमोल राई र डीएभी स्कुलका हर्षबर्धन राठी शीर्ष तीन स्थानमा विजयी भए । छात्रातर्फ मनकामनाकी प्रेसियस अधिकारी, सूर्योदय सेकेन्डरीकी अनन्य सैंजु र प्रज्ञाकुञ्जकी नेलिशा ओझा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
१३ वर्षमुनि छात्रतर्फ एसियन पब्लिकका दिपन मैनाली, पाठशाला नेपालका ओस्कार पन्थी र मार्भलसका ब्रिज नन्दन झा तथा छात्रातर्फ मनकामनाकी मेघना अधिकारी, नितिन मेमोरियलका परियचा बोलाखा र त्रियोगकी परिधि खत्री क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
काठमाडौं महानगरपालिका–२७ का वडाध्यक्ष योगेश खड्काले विजेता विद्यालयलाई च्याम्पियन ट्रफी वितरण गरे । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलको संयुक्त आयोजना भएको हो ।
