रोम — इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले विश्वकप छनोटको सोमबार माल्दोभाविरुद्ध हुने खेल आफ्नो लागि अन्तिम हुने बताएका छन् ।
गत साता विश्वकप छनोटमा इटाली नर्वेको हातबाट ३–० ले पराजित भएपछि प्रशिक्षक स्पालेटीको चर्को आलोचना भएको थियो । इटालियन फुटबललाई लगातार तेस्रोपल्ट विश्वकपमा छनोट हुन नसक्ने डरले सताइरहेको छ ।
उनले मिडियासामु भने, ‘मैले इटालीको फुटबल संघका अध्यक्षसँग कुराकानी गरेको छु र इटालीको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक पदबाट मलाई हटाउने भनिएको छ ।’ सन् २०२३ मा रोबर्टो मान्चिनीले छाडेपछि ६६ वर्षीय स्पालेटीले प्रशिक्षक पदको जिम्मेवारी पाएका थिए । इटालीको प्रशिक्षकका रूपमा उनले ११ पल्ट जित हासिल गरेका छन् भने ६ खेल बराबरीमा टुंगिएको छ ।
६ खेलमा इटाली पराजित छ । स्पालेटीले थपे, ‘म खुसी पक्कै छैन । मेरो टिमबाट हट्ने कुनै मनसाय छैन । जतिबेला टिमले राम्रो गरिरहेको छैन, त्यतिबेला म नै टिममा रहेको ठीक हो । तर अहिले टिमको प्रदर्शन राम्रो भइरहेको छैन र यो तथ्य मैले स्वीकार्नुपर्छ । मलाई लाग्छ, यो प्रशिक्षकको पद देशको सेवा पनि हो । सबैको ध्यान टिमको उत्कृष्ट प्रदर्शनमै हुनुपर्छ ।’
