यू-१४ राष्ट्रिय विद्यालय खेलकुद : टेबलटेनिसमा बागमती च्याम्पियन

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

U-14 National School Sports: Bagmati Champion in Table Tennis

काठमाडौँ — लुम्बिनी प्रदेश ४ स्वर्ण पदक जित्दै यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ । कर्णाली प्रदेश २ स्वर्ण र ५ रजतसाथ दोस्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्यसाथ संयुक्त तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती र सुदूरपश्चिम प्रदेशले१–१ स्वर्ण जिते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगिताको दशरथ रंगशालामा सोमबार छात्र/छात्रामा ३–३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २०० मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले २४.९ सेकेन्डमा दूरी पूरा गरे । मधेशका आयुश चौधरी दोस्रो र कोशीका नितेश भट्टराई तेस्रो भए । सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी विजेता भइन् । अनुजाले ३१.४ सेकेन्ड खर्चिइन् । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बने ।

छात्र ८०० मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले २ मिनेट ०७.४ सेकेन्ड निकाले । कर्णालीका विवेक बोगटीले रजत र कोशीका नितेश भट्टराईले कांस्य जिते । सोही दूरीको छात्रामा लुम्बिनीकी चाँदनी पासीले २ मिनेट ४७.३ सेकेन्डबाट स्वर्ण जितिन् । कोशीकी जुही राई दोस्रो र सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।

छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

कोशी र बागमतीलाई बास्केटबल उपाधि

यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र र बागमती छात्रामा च्याम्पियन भए । राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ स्कोरले पराजित गर्‍यो । लुम्बिनी तेस्रो भयो । छात्रा फाइनलमा बागमतीले कर्णालीलाई १५–३ स्कोरले हरायो । कोशी तेस्रो स्थानमा रह्यो ।

टेबलटेनिसमा बागमतीको ‘क्लिन स्विप’

यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसको स्वर्णमा बागमतीले क्लिन स्विप गरेको छ । ४ स्पर्धा रहेको टेबलटेनिसमा सबै स्वर्णमा बागमतीले जित्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जन विजेता भए । फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११, १४–१२ र अर्सनाले बागमतीकै साइरा शाक्यलाई ११–६, ११–९, ११–९ को सेटमा पराजित गरे । छात्रमा गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तेस्रो भए । छात्रामा लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जन तेस्रो भए ।

छात्र डबल्समा बागमतीका आर्यन र अर्नवको जोडी पहिलो यो । उनीहरूको जोडीले फाइनलमा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडीलाई ११–९, ११–७, ११–६ को सोझो सेटमा हरायो । गण्डकीका सुगम पौडेल र दीपनिशान शाही तथा लुम्बिनीका सुविन क्षेत्री र सुविन थापाको जोडी तेस्रो भए ।

छात्रामा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले फाइनलमा कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीलाई ११–१, ११–४, ११–२ को सोझो सेटमा हरायो । लुम्बिनीका सोनम गुरुङ र अयाना शाह तथा गण्डकीका सृष्टि खड्का र ब्रिसना बस्नेतको जोडीले कांस्य जित्यो ।  

मधेश र सुदूरपश्चिम रग्बी च्याम्पियन

राष्ट्रिय विद्यालय खेलकुदमा रग्बी सेभेन्सको छात्रतर्फ मधेश र छात्रातर्फ सुदूरपश्चिम च्याम्पियन भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छात्रको फाइनलमा मधेशले कर्णालीलाई सडन डेथमा पराजित गर्‍यो । निर्धारित समयमा दुवै पक्षबाट स्कोर हुन नसकेपछि मधेशले अत्तिरिक्त समय १ ‘ट्राइ’ गर्दै उपाधि जित्यो । गण्डकी तेस्रो भयो ।

छात्रा उपाधि भिडन्तमा सुदूरपश्चिमले कर्णालीलाई हरायो । बागमती तेस्रो भयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully