काठमाडौँ — कान्तिपुर हाफ म्याराथन विजेता धाविका सन्तोषी श्रेष्ठले शनिबार नेपाल हेरिटेज २५ के उपाधि जितेकी छन् । पुरुषतर्फको उपाधि केन्याका जुलियस मुरुयुकीले जिते । गत शनिबार भएको कान्तिपुर हाफ म्याराथनमा जुलियस दोस्रो भएका थिए ।
दशरथ रंगशालाबाट सुरु २५ किमि दुरीको रेस सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डमा पूरा गरिन् । आर्मीकी निशा सार्की दोस्रो भइन् । उनले १ घन्टा ३२ मिनेट ३१ सेकेन्ड लगाइन् । एपीएफकी धाविकापुष्पा भण्डारी १ घण्टा ३८ मिनेट ०९ सेकेन्डबाट तेस्रो भइन् । पुष्पा कान्तिपुरमा पनि तेस्रो नै भएकी थिइन् ।
पुरुषतर्फ जुलियसले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी पार गरेका थिए । आर्मीका विनोद रोकाया १ घण्टा १७ मिनेट ११ सेकेन्डबाट दोस्रो भए । सुशील केसी १ घण्टा १८ मिनेट ५१ सेकेन्डबाट तेस्रो भए ।
महिला र पुरुष दुवैतर्फ विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ प्राप्त गरे ।
५ किमि यू–१८ ब्वाइजमा अजय पाण्डे १७ मिनेट १२ सेकेन्डबाट पहिलो भए । सन्दीप सेन्चुरी दोस्रो र अमृत विश्वकर्मा तेस्रो भए । गर्ल्समा २१ मिनेट ४७. ६६ सेकेन्डबाट अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए ।
५ किमि भेट्रान पुरुषमा धर्म महर्जन पहिलो भए । लोप्साङ तामाङ दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भए । महिलामा शर्मिला बस्नेत, कल्पना महर्जन र केशरी थापा मगर शीर्ष तीन स्थानमा विजयी भए । दुवैतर्फका विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गरे ।
