उपमेयर कप खुला नकआउट भलिबलको उपाधि एभरेष्ट र मनकामनालाई

जेष्ठ २५, २०८२

सन्जु पौडेल

Everest and Manakamana won the Deputy Mayor's Cup Open Knockout Volleyball title

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सञ्चालित उपमेयर कप खुला नकआउट भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट र मनकामना युवा क्लबले जितेका छन् ।

शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा महिला तर्फ सहभागी ७ टिममध्ये एभरेष्ट माध्यमिक विद्यालयले उपाधि चुमेको हो । उसले कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुललाई २५–२२, २५–२०, २५–१५ को सेटमा हराएको हो । त्यस्तै, पुरुषतर्फ १२ टिम सहभागी भएकामा मनकामना युवा क्लब शुद्धोधनले जनज्योति क्लबलाई ३४–३२, १५–८ को सेटमा हरायो ।

प्रथम भएका दुवै टिमले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै, द्वितीय भएका कुँवर वर्ती र जनज्योति क्लबले जनही ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । खेलमा महिलातर्फ सेन्ट जोसेफ इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गर्दै २० हजामा चित्त बुझायो । पुरुषतर्फ भने मणिमुकुन्द भलिबल क्लब तृतीय बन्यो ।

प्रतियोगितामा महिलातर्फ जनज्योति बोर्डिङ स्कुल र पुरुषतर्फ न्यु होराइजनका खेलाडीले सान्त्वना स्थान प्राप्त गर्दै १० हजार रुपैयाँ पाए । खेलमा विधागत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगद सहित सम्मान गरिएको थियो । पुरुषतर्फ बेस्ट डिफेन्डर मनकामनाका धन बहादुर थापा बने । वेस्ट सर्भरको उपाधि ललित ठकुरीले जिते । त्यस्तै, वेस्ट सेटर मनकामनाकै चित्र बहादुर थापा, वेस्ट स्पाइकर सोही क्लबका विसन रनपाल र अनुशासित खेलाडीको उपाधि मनकामनाकै दीप सुनारले हात पारे । जनज्योति का सुगम वि कले वेस्ट ब्लकरको उपाधि चुमे । उक्त कलबका खेलाडी सुचल विक उदीयमान खेलाडी बने भने मनकामनाका अदालत चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । पुरुषतर्फ मनकामनाका झुपेन्द्र थारु बेस्ट कोच बने ।

महिलातर्फ कुँवरवर्तीकी भारती विक बेस्ट सर्भर बनिन् । सोही विद्यालयकी दुर्गा गाहाले वेस्ट डिफेन्डर, सरु नेपालीले बेस्ट सेटरको उपाधि ीचुमे । खेलमा एभरेष्टकी निशा चौधरीले बेस्ट स्पाइकर, रितु पुनले अनुशासित खेलाडी, विनीता रानाले उदीयमान खेलाडी  र मीना सुनारले सर्वोत्कृष्ट खेलाडी बनी पुरस्कार हात पारे भने कुँवरवर्तीकी रुचि थापा वेस्ट ब्लकर बन्न सफल भइन् । खेलमा एभरेष्टका अर्जुन घिमिरेले वेस्ट कोचको पुरस्कार पाए ।

प्रतियोगी खेलाडीलाई पुरस्कार प्रदान गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले नगरपालीकाले खेल क्षेत्रमा गरेको लगानीले खेलाडी उत्पादन र नगरको नाम राष्ट्रभरि नै परिचित गराउने गरी अघि बढेको बताए । उनले खेलका माध्यमबाट पनि पालीका चिनिने भएकाले खेलाडीका लागि मैदान, सिकाई सामाग्री, प्रशिक्षकको व्यवस्थापन गर्दै विद्यालय, क्लबसँग सहजीकरण गरिरहेको जनाए ।

उपप्रमुख जगेश्वदेवी चौधरीले जाडो मौसममै गर्नुपर्ने खेल सम्पन्न गर्न केही ढिलाइ भएको भएपनि खेलाडीले चासो दिएर सहभागिता जनाउनु खुसीको विषय भएको बताइन् । उनले यसबाट आफूहरूले खेलका लागि खेलाडीले मौका खोज्ने रहेछन् भन्ने बुझेको भन्दै जिल्लाभरिकै खेलाडीको उपस्थिति गराई खेल क्षेत्रलाई प्रोत्साहन गर्न प्रतियोगिता गरिएको बताइन् । उनले आगामी बजेटमा थप विनियोजन गर्न मिल्नेगरीपैसा छुट्याएर खेल को विकासमा लाग्ने बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पालीकाले हरेक वडामा एक खुला मैदान बनाएर हरेक विधामा खेलाडी उत्पादनको लक्ष्य लिएको बताए । उनले आगामी बजेटमा यस विषयलाई समेट्न सकिए हरेक क्षेत्रमा अब्बल बन्दै गएको तिलोत्तमा खेलमा पनि उत्कृष्ट साबित हुन समय नलाग्ने जनाए । अहिलेका बालबालिका, युवाले खेलबाट पनि केही हुन्छ है भन्ने बुझेकाले खेलको विकास आवश्यक रहेको उनले जनाए ।

तिलोत्तमा नगर खेलकुद विकास मितिका संयोजक लोक पुनले भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कराँते जस्ता खेल क्षेत्रमा भइरहेको लगानीले राम्रो खेलाडी पालिकाभित्र रहेछन् भन्ने दृश्य देखाएको बताए । उनले यिनै खेलाडीलाई प्रोत्साहन गर्दै नयाँ खेलाडी खेलमा लाग्ने वातावरण बनाउन आफू र समितिका पदाधिकारी लाग्ने बताए ।

उपमेयरकप नकआउट खुला भलिबलको यो तेस्रो संस्करण रहेकाले लगातार ३ वर्ष उपाधि जित्न सफल एभरेष्ट माध्यमिक विद्यालयले रनिङ शिल्डसमेत हात पारेको हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully