बाँकेलाई पछि पार्दै दाङ च्याम्पियन

जेष्ठ २५, २०८२

दुर्गालाल केसी

Dang champion behind Banke

दाङ — लुम्बिनी प्रदेशस्तरीय १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८१ मा दाङ च्याम्पियन बनेको छ । दाङको बेलझुन्डी रंगशालामा भएको प्रतियोगितामा तीन पटकको अपराजित बाँकेलाई पछि पार्दै दाङ च्याम्पियन बनेको हो ।

जेठ २३ देखि २५ सम्म भएको प्रतियोगितामा दाङ १६ स्वर्ण, १८ रजत र १६ कांस्यसहित च्याम्पियन बन्न सफल भएको हो । आइतबार अबेर सम्पन्न रनिङ सिल्डमा रूपन्देहीले दोस्रो स्थान पायो । रूपन्देहीले १३ स्वर्ण, ९ रजत र ११ कांस्य पदक जित्यो । साबिक विजेता बाँके यसपालि तेस्रो भएको छ । बाँकेले १२ स्वर्ण, १७ रजत र १७ कांस्य पदक जित्दा कपिलवस्तु चौथो भयो । कपिलवस्तुले ९ स्वर्ण, ५ रजत र ४ कांस्य पदक जितेको थियो ।

पाँचौं भएको बर्दियाले ६ स्वर्ण, ५ रजत र २५ कांस्य पदक हात पार्दा नवलपरासी छैटौं भएको छ । नवलपरासीले ६ स्वर्ण, ४ रजत र १० कांस्य पदक जितेको थियो । पाल्पाले सातौं स्थान हुँदै २ स्वर्ण, १ रजत र ४ कांस्य जित्न सफल भयो । रुकुम पूर्व २ स्वर्ण, २ कांस्यसहित आठौं स्थानका रह्यो । प्युठान, अर्घाखाँची र गुल्मी स्वर्णविहिन रहे ।

दाङले एथलेटिक्सको ८ सय मिटर, ४ सय मिटर, १५ सय मिटर, सटपुट, ट्रिपलजम्प, उसुको थाउलो, सान्सौंमा ४२, ४५ र ४८ केजी तौल समूह, करातेको एकल काता, ४० र ४५ केजी, तेक्वान्दोको एकल पुम्से, ४८ र ५९ केजी तौल समूहमा स्वर्ण जितेको थियो ।

भलिबल छात्रातर्फ रूपन्देहीकी प्रतिभा चौधरी, एथलेटिक्समा छात्रातर्फ बाँकेकी आरुषी भट्टराई, छात्रतर्फ रूपन्देहीका शुभम बमरेल, कबड्डीमा छात्रामा बर्दियाकी खुशी घर्तीमगर र छात्रमा रूपन्देहीका क्षितिज गैरे उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा रोल्पाबाहेक ११ वटै जिल्लाका १ हजार ३ सय बढी खेलाडीले सहभागिता जनाएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य–सचिव तिरनदाज गौतमले बताए ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्षमुनिका विद्यार्थी सहभागी भएका थिए । स्थानीय पालिका हुँदै जिल्लामा छनोट भएर प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

प्रदेशका उत्कृष्ट खेलाडीले जेठ २८ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिनेछन् ।

बेलझुण्डी रंगशालामा उदघाटन भएको प्रतियोगिताका खेल तुलसीपुरका विभिन्न स्थानमा गरिएको थियो । एथलेटिक्स बेलझुण्डी रंगशालामा भएको थियो । उसु र कराते ओमशान्ति स्केट पार्क, तेक्वान्दो प्रदेश तेक्वान्दो हल कृष्णमन्दिर, कबड्डी प्रतियोगिता संस्कार पाठशाला, भलिबल प्रतिस्पर्धा अरनिको मैदानमा खेलाइएको थियो ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully