एएफपी — अमेरिकी खेलाडी कोको गौफले शनिबार फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि जितेकी छन् । यस क्रममा उनले रोलान्ड ग्यारोसमा भएको उतारचढावपूर्ण फाइनलमा बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरिन् ।
पहिलो सेट गुमाएयता २१ वर्षीया गौफले उत्कृष्ट पुनरागमन रचिन् । उनले खेल ६–७ (७/५), ६–२, ६–४ ले खेल आफ्नो पक्षमा पारिन् । पहिलो सेट गुमाएपछि गौफले लय समातेकी थिइन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो । गौफको समग्रमा ग्रान्ड स्लाम उपाधि जित यो दोस्रो पटक हो ।
यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् । त्यतिबेला पनि गौफले फाइनलमा २७ वर्षीया सबालेन्कालाई नै पराजित गरेकी थिइन् । सन् २०२२ मा गौफले पहिलो पटक फ्रेन्च ओपनको फाइनल यात्रा तय गरेकी थिइन् । तर, उपाधि भिडन्तमा तत्कालीन नम्बर एक खेलाडी पोल्यान्डकी इगा स्वाटेकसँग हारेकी थिइन् । स्वाटेकले लगातार तीन वर्ष फ्रेन्च ओपन जित्दै उपाधिमा ह्याट्रिक गरिन् । स्वाटेक २०२० की पनि विजेता थिइन् ।
२७ वर्षीया सबालेन्का जनवरीमा अस्ट्रेलियन ओपनको फाइनलमा पराजित भएकी थिइन् । उनले लगातार दोस्रो ग्रान्ड स्लाम फाइनल गुमाएकी छन् । गत वर्ष युएस ओपन जितेकी सबालेन्काले २०२३ र २०२४ मा लगातार अस्ट्रेलियन ओपन जितेकी थिइन् । चार ग्रान्ड स्लाममध्ये फ्रेन्च ओपन जितेर तीन ग्रान्ड स्लाम इतिहास बनाउने लक्ष्यमा थिइन् ।
