उज्वेकिस्तान र जोर्डन विश्वकपमा पहिलोपल्ट

जेष्ठ २४, २०८२

एजेन्सी

Uzbekistan and Jordan for the first time in the World Cup

हङकङ — उज्वेकिस्तान र जोर्डन सन् २०२६ को फिफा विश्वकप फुटबलका छनोट भएका छन् । विश्वकपका लागि दुवै देश नयाँ हो ।

विश्वकप एसिया छनोटमा यूएईसँग गोलरहित बराबरीमा खेल्दै उज्वेकिस्तानले आफ्नो समूह ‘ए’ दोस्रो स्थानमा रहेर विश्वकपको टिकट काटेको थियो । यो समूहबाट इरान शीर्षस्थानमा रहेर छनोट भइसकेको छ । इरानले ९ खेलबाट २० अंक बनाएको छ भने उज्वेकिस्तानले ९ खेलबाट १८ अंक जोड्यो । युएई १४ अंकसहित तेस्रो र कतार १३ अंकसहित चौथोमा छ । 

तेस्रो चरणमा एसियाका १८ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा पुग्नेछन् । तेस्रो र चौथो टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । समूह ‘ए’ मा किर्गिस्तानको ७ र उत्तर कोरियाको ३ अंक छ ।

समूह ‘बी’ बाट जोर्डन दोस्रो स्थानमा रहेर विश्वकपमा पुगेको छ । जोर्डनले ओमानलाई ३–० ले पराजित गरेको थियो । विश्वकपमा स्थान पक्का गरिसकेको दक्षिण कोरियाले इराकलाई २–० ले हराएपछि जोर्डन पनि छानियो । दक्षिण कोरिया १९ र जोर्डन १६ अंकसहित पहिलो दुई स्थानमा रहे । १२ अंकसहित इराक तेस्रो र १० अंकसहित ओमान चौथोमा छ । प्यालेस्टाइन ९ र कुवेत ५ अंक लिएर पाँचौं र छैटौं स्थानमा रहे ।

समूह ‘सी’ बाट जापानले विश्वकपमा स्थान पक्का गरिसकेको छ । जापानसँग ९ खेलबाट २० अंक छ । अस्ट्रेलियाले जापानलाई १–० ले हराएर विश्वकप छनोट यात्रालाई नजिक बनाएको छ । अस्ट्रेलियाको १६ अंक छ । निकट प्रतिद्वन्द्वी साउदी अरेबिया १३ अंकसहित तेस्रो स्थानमा छ । अस्ट्रेलिया र साउदीबीच अर्को साता हुने खेलले समूहबाट दोस्रो टोलीको टुंगो लगाउने छ । समूह ‘सी’ मा इन्डोनेसियाले १२, बहराइन र चीनले समान ६–६ अंक जोडेका छन् ।

२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको, क्यानडामा हुनेछ । यी तीन सोझै छनोट भएका छन् । यसबाहेक दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ओसिनियाबाट न्युजिल्यान्डले विश्वकपमा स्थान बनाइसकेका छन् ।

एजेन्सी

Link copied successfully