काठमाडौँ — टाइम्स बास्केटबल क्लबले शनिबार हाउन्ड्स एकेडेमीलाई पराजित गर्दै हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा स्थान बनाएको छ ।
आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउन्ड्सलाई ९२–६७ स्कोरले हराएको हो । टाइम्सले अब उपाधिका लागि फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेट बास्केटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
टाइम्सले हाउन्डससँग पहिलो चरणमा बेहोरेको हारको बदला लिएको छ । टाइम्स र हाउन्ड्स समान १७ अंक जोडे । दुवैले ७ खेल जित्दा ३ खेलमा हार बेहोरेको थियो । यसअघि हाउन्ड्सले टाइम्सलाई ७५–७१ ले हराएको थियो । शनिबार टाइम्स २५ स्कोर अन्तरले विजयी भयो । दुई टिमको अंक बराबर भएको अवस्थामा हेड टु हेडमा धेरै अंक जोडेकाले टाइम्सले बाजी मारेको हो ।
हाउन्ड्स भने अधिकांश समय लिगको शीर्षस्थानमा रहे पनि अन्तिम दुई खेल हारेपछि फाइनल पुग्न सकेन । यसअघि हाउन्ड्स गोल्डेनगेटसँग पराजित भएको थियो ।
कीर्तिपुर कभर्डहलमा हाउन्ड्सले टाइम्सविरुद्ध पहिलो क्वाटरमा २०–१९ को झिनो अग्रता लिएको थियो । तर, दोस्रो क्वाटरमा पुनरागमन गर्दै ३१–२७ ले आफ्नो पक्षमा पारेपछि टाइम्सले ५०–४७ को अग्रता बनायो ।
तेस्रो क्वाटर टाइम्सले २१–१४ ले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरअघि नै ७१–६१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर टाइम्सले एकपक्षीय रूपमा २१–६ स्कोर गर्दै फराकिलो जित निकाल्यो । टाइम्सका मबिन्द्र भण्डारी मोस्ट भ्यालुएबल प्लेयर भए । टाइम्सबाट मनिष केसीले सर्वाधिक २७ स्कोर गरे । हाउन्डसका सिमोन गुरुङले १७ स्कोर गरेका थिए ।
