गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड गोरखामा

जेष्ठ २४, २०८२

हरिराम उप्रेती

Gandaki State Level President Running Shield in Gorkha

गोरखा — १६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्ष गोरखामा हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना तथा जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापन तथा संचालनमा जेठ २६ र २७ गते गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका एक हजारभन्दा बढी खेलाडीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगिता संचालन गर्न ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

प्रतियोगिताको विभिन्न खेलमध्ये गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भलिबल र कबड्डी (महिला/पुरुष), कभर्ड हलमा तेक्वान्दो र कराते खेलहरु हुने अध्यक्ष तामाङले बताए ।

त्यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलकुद मैदानमा एथलेटिक्स तर्फका खेलहरु हुनेछन् भने विपद व्यवस्थापन हलमा उसु खेल संचालन हुने छ । जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने छन् । 

प्रतियोगिताबाट १०६ जना खेलाडी छनौट भएर केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्ने छन् ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully