ब्याडमिन्टनमा विद्युतका भक्तराज र अम्बिका च्याम्पियन

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Vidyutka Bhaktaraj and Ambika champion in Badminton

काठमाडौँ — १४ औं संस्करणको कर्मचारी खेलकुद प्रतियोगितामा ब्याडमिन्टनमा नेपाल विद्युत प्राधिकरणले क्लिन स्विप गरेको छ । ब्याडमिन्टनमा ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

र्‍याकेट एन्ड रोल ब्याडमिन्टन हलमा भएको पुरुष/महिला सिंगल्समा क्रमशः भक्तराज जोशी र अम्बिका सापकोटा विजेता भए । फाइनलमा भक्तराजले विद्युतकै मंगेश तामाङलाई २१–१२, २०–२२, २२–२० को सोझो सेटमा पराजित गरे । कृषि विकास बैंकका टक्कर कुँवर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कालजंग लामा तेस्रो भए ।

अम्बिकाले फाइनलमा नेपाल कृषि विकास बैंककी दीपिका राईलाई २१–८, २१–९ को सोझो सेटमा हराइन् । कृषिकी प्रतिक्षा नेपाल र नागरिक उड्डयनकी सरला श्रेष्ठले कांस्य जिते ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा राजु महर्जनले विद्युतकै रत्न श्रेष्ठलाई २१–१०, १४–२१, २१–११ ले हराए । नेपाल वायुसेवा निगमका घनश्याम भट्ट र नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डे तेस्रो बने ।

एक्ज्युकेटिभ डबल्समा बासु कलोउनी र लोकेन्द्र साउदको जोडी विजेता भयो । उक्त जोडीले फाइनलमा विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठको जोडीलाई १७–२१, २१–८, २१–१८ को सेटमा हराए ।  

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु महर्जन र रत्न शाक्यको जोडी विजेता तथा विद्युतका छविलाल भट्टराई र विष्णु मास्केको जोडी उपविजेता भए । पुरुष डबल्समा विनोद अधिकारी रभक्तराज जोशीको जोडीले स्वर्ण, कृषिका टक्कर कुँवर र राजकुमार निरौलाको जोडीले रजत तथा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी र रामकुमार थापा तथा विद्युतका श्याम महर्जन र विष्णु मास्केको जोडीले कांस्य जितेको थियो ।

कान्तिपुर

Link copied successfully