काठमाडौँ — एमेच्योर गल्फर सदभाव आचार्यले रेकर्ड स्कोरसहित ११ औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । नम्बर वन गल्फर सदभावले राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराएर पहिलो पटक यो च्याम्पियनसिप जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा सदभावले बिहीबार २ अन्डर ७० खेल्दै समग्रमा २० अन्डर १ सय ९६ को स्कोर बनाए । उनले ५४ होलको १८ अन्डरको रेकर्डसमेत तोडेका थिए । उनले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । टिमतर्फ राहुलसँग मिलेर स्वर्ण जितेका हुन् । उनले दोस्रो दिन १२ अन्डर ६० खेल्दै गोकर्ण गल्फ क्लबको कोर्स रेकर्ड तोडेका थिए ।
नेपालका राहुल र भारतका सुमित कोटवालले समान १० अन्डर २ सय ६ को स्कोर बनाए । काउन्टब्याकमा राहुल दोस्रो र सुमित तेस्रो भए । १ स्वर्ण र १ रजत जितेका राहुलले बिहीबार ४ अन्डर ६८ को उत्कृष्ट स्कोर बनाए । सुमितले इभन–पार ७२ खेले ।
८ स्ट्रोकको अग्रतामा दिनको खेल सुरु गरेका सदभावले पहिलो र नवौं होलमा बर्डी प्रहार गरे । तर दोस्रो, पाँचौं र छैटौं होलको बोगीले फ्रन्टनाइन १ ओभर ३७ टुंग्याए । ब्याकनाइनमा भने तीन बर्डीको सफलता पाए । १०, १४ र १५ औं होलमा शट बचाएर ब्याकनाइन ३ अन्डर ३३ मा पूरा गरे ।
राहुलले तेस्रो होलको बर्डीविरुद्ध छैटौं होलको बोगीले फ्रन्टनाइन इभन पार ३६ मा सके । ब्याकनाइनमा राहुल ४ होलमा प्रहार गरेको बर्डीले दोस्रो भए । उनले ११ देखि १३ औं होलमा लगातार तीन र १५ औं होलमा बर्डी प्रहार गरे । ब्याकनाइन ४ अन्डर ३२ मा सकेका उनी काउन्टब्याकमा दोस्रो भए ।
सुमितले बोगीबाट खेल सुरु गरे । यसपछि तेस्रो, चौथों र नवौं होलमा शट बचाएसँगै फ्रन्टनाइन २ अन्डर ३४ मा टुंग्याए । १२ औं होलमा बर्डी प्रहार गर्दा १३ औं होलमा शट खेर फाले । अन्तिम होलको डबल बोगीले ब्याकनाइन २ ओभर ३८ मा पूरा गरे ।
महिलातर्फ भारतकी अनन्थी विवेकले समग्रमा इभन–पार २ सय १६ सहित उपाधि जितिन् । उनले आफ्नै देशकी दिया क्रिस कुमारलाई १९ स्ट्रोकको हराइन् । गत संस्करण तेस्रो भएकी अनन्थीले यसपालि उपाधि उचालिन् । बिहीबार उनले ३ ओभर ७५ स्कोर गरिन् ।
समग्रमा १९ ओभर २ सय ३५ सहित दियाले दोस्रो स्थान हासिल गरिन् । उनले आज ८ ओभर ८० खेलिन् । नेपालकी तारा कार्की चित्रकार तेस्रो भइन् । उनले समग्रमा २ सय ५४ स्कोर गरिन् ।
यू–१६ तर्फ भारतका भिभान उभयकरले उपाधि जिते । समग्रमा १ अन्डर २ सय १५ स्कोर गरे उनले बिहीबार २ अन्डर ७० स्कोर गर्दा । उनले आफ्नै टिमका प्रिन्स बैंस्लालाई ६ स्ट्रोकले हराए । भिभानले फ्रन्टनाइन २ अन्डर ३४ र ब्याक नाइन इभन–पार ३६ मा सकेका थिए ।
प्रिन्सले बिहीबार इभन–पार ७२ खेल्दा समग्रमा ५ ओभर २ सय २१ स्कोर गरे । नेपालका रुबेन थापा समग्रमा १३ ओभर २ सय २९ सहित तेस्रो भए । उनले अन्तिम दिन ४ ओभर ७६ खेले । काउन्टब्याकमा रुबेनले भारतका अङ्भय बाग्लालाई पछि पारे ।
नेपाल ’ए’ का सदभाव र राहुलले ३६ होल समाप्तिमा २४ अन्डर २ सय ६४ को स्कोरमा टिम स्वर्ण जित्यो । नेपाल ’ए’ ले १६ अन्डर १ सय २८ को स्कोरमा भुटानलाई २४ स्ट्रोकले हरायो । निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्टब्याकमा दोस्रो भयो । भुटान र बंगलादेश इभन–पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा आएको हो । सोफिकुल इस्लाम र मोहम्मद सहाब उद्दिनसम्मिलित बंगलादेश टिमले कांस्य जित्यो ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कृत गरे । तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी ५ राष्ट्रका ५७ खेलाडीको सहभागिता थियो । यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो ।
