राखेपले यू-१४ राष्ट्रिय विद्यालय खेलकुद गर्ने

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Rakhep will play U-14 National School Sports

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारदेखि यू–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता गर्ने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद गरिएको राखेपले जनाएको छ ।

प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बताए । जिल्ला/प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ती खेलाडी सहभागी हुने छन् ।

एथलेटिक्स, टेबलटेनिस, थ्री बाइ थ्री बास्केटबल, रग्बी सेभेन्स, ब्याडमिन्टन र छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा २–२ विधामा खेल हुनेछ । क्रिकेट ट्वान्टी–२० संरचनामा २० ओभरको हुनेछ ।

नेपालय इभेन्ट म्यानेजमेन्ट प्रालिको सहआयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा २५ स्वर्णसहित ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी मैदानमा खेलाइने छ । क्रिकेट जेठ २५ देखि २९ सम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ र २६ गत हुनेछ ।

सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिए पनि व्यहारमा त्यति लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणा अघि सारेको बताए ।   एक्सपर्टका खेम संग्रौलाले खेलकुद मानिसलाई अनुशासित र स्वस्थ बनाउने महत्वपूर्ण क्षेत्र भएकाले लामो समयदेखि आफ्नो संस्था खेलकुदसँग जोडिएको बताए ।

नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत जुनियर प्रतियोगिताका लागि राखेपसँग सहकार्य गरेको बताए । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसँग सहकार्य गरी जुनियर प्रतियोगितालाई अगाडि सारिएको बताए । 

कान्तिपुर

Link copied successfully