दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जेष्ठ २३, २०८२

दुर्गालाल केसी

Lumbini state level President Running Shield competition started in Dang

दाङ — लुम्बिनी प्रदेशस्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि दाङको बेलझुण्डी रंगशालामा सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका खेलाडीहरू सहभागी भएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताए ।

प्रतियोगितामा रोल्पा जिल्लाबाहेक सबै जिल्लाका खेलाडी सहभागी भएको उनले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक र अफिसियल गरी करिब एक हजार तीन सय बढीको सहभागिता रहेको गौतमले बताए ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरीले गरिन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले खेलकुदको विकाससँगै युवाहरूलाई अनुशासित बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले खेलको विकासमा तीनै तहका सरकारले भूमिका खेलिरहेको बताए ।

Lumbini state level President Running Shield competition started in Dang

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला-पुरुष, कबड्डीमा महिला-पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्दो गरी छ विधाका प्रतियोगिता समावेश गरिएको छ । उक्त प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका खेलाडी सहभागी भएका छन् ।

Lumbini state level President Running Shield competition started in Dang

एथ्लेटिक्सका सबै खेलहरू बेलझुण्डी रंगशालामा, उसु र कराँतेका खेलहरू तुलसीपुरस्थित ओम शान्ति स्केट पार्कमा र तेक्वान्दोका खेलहरू प्रदेश तेक्वान्दो हल कृष्ण मन्दिरमा गर्ने गरी तालिका तयार पारिएको छ ।

कबड्डी प्रतियोगिता  तुलसीपुरस्थित संस्कार पाठशाला र भलिबलका खेलहरू अरनिको मैदानमा हुने भएका छन् । पालिका हुँदै जिल्लामा प्रतिस्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूले जेठ २८, २९ र ३० मा काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिन पाउनेछन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully