आरिफको अनवरत यात्रा

स्कटिस सहर डन्डीको चिसो हावामा ‘आइसम्यान’ आरिफको बाफिलो इनिङ्स

जेष्ठ २३, २०८२

विनोद पाण्डे

Arif's continuous journey

डन्डी, स्कटल्यान्ड — मध्यक्रमका ब्याटर आरिफ शेखको विशेषता एकदिवसीय क्रिकेटमा लामो समय क्रिजमा टिकेर खेल्नु हो । उनले बुधबार यही क्षमता प्रदर्शन गर्दा नेपालले विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्समाथि ५ विकेटको सानदार जित निकाल्यो । डच टिमका लागि यो स्तब्धपूर्ण नतिजा जस्तै रह्यो ।

नेपालले ५० ओभरको खेलमा नेदरल्यान्ड्सलाई उसैको भूमिमा दुई पटक र घरेलु भूमिमा एक पटक पराजित गरिसकेको थियो । आरिफले स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा खेलको एकमात्र अर्धशतक बनाएपछि नेपाली टिम नेदरल्यान्ड्सलाई एकदिवसीयमा पहिलो पटक तटस्थ भूमिमा पराजित गर्न सफल भएको हो ।

आरिफले ७८ रन बनाएपछि नेपालले २ सय २६ रनको लक्ष्य ४७.१ ओभरमै पार गरेको थियो । आरिफले ४० औं ओभरमा भिभिएन किङ्माको बलमा प्वाइन्टमाथि छक्का प्रहार गर्दै ८१ बलमा व्यक्तिगत अर्धशतक पूरा गरे । सुरुदेखि नै क्रिजमा डटेर खेलेका आरिफले कुल ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

निर्धक्कसाथ क्रिजमा बिताउनु बाहेक उनको अर्को परिचय शान्त स्वभाव पनि हो । ‘आइसम्यान’ आरिफले डन्डीको चिसो हावामा नेपाली क्रिकेटकै एउटा बाफिलो इनिङ्स खेले । उनले नेदरल्यान्ड्सविरुद्धको इनिङ्सबारे भने, ‘प्रशिक्षक (स्टुवार्ट ल) ले जुन भूमिका दिनुभएको छ, त्यसलाई मैले पूरा गरेको मात्र हो । निश्चय पनि टिमका लागि योगदान दिँदा राम्रो अनुभव हुने भइहाल्यो । त्यसैले म आफ्नो भूमिकामा रमाइरहेको छु । प्रशिक्षकले गेम फिनिस गर्न भन्नुभएको थियो, तर दुर्भाग्य मैले गेम फिनिस गर्न चाहिँ सकिनँ । आउने दिनहरूमाम अब फेरि यस्तै परिस्थिति बनेमा अवश्य गेम फिनिस गरेर आउने छु ।’

आरिफले कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ५५ र दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ९२ बलमा ८९ रनको ठोस साझेदारी गर्दै नेपाललाई विजयको बाटो देखाए । ‘यहाँ खेल्न गाह्रो छ । त्यसै पनि हामीले दुई विकेट गुमाएर गाह्रो बनिसकेको थियो । त्यहाँबाट एउटा महत्त्वपूर्ण साझेदारी चाहिएको थियो । हामीले दुईवटा अर्धशतकीय साझेदारी गरेपछि खेल जित्न सफल भएका हौं,’ आरिफले भने, ‘सुरुको १०–१५ बलमा जोगिएर खेल्ने हो भनेपछि ब्याटिङ गर्न सजिलो हुँदैं जान्छ । ब्याटिङका लागि यो राम्रो विकेट छ ।’

आरिफले ५९ औं एकदिवसीय अन्तराष्ट्रिय खेल्दै आफ्नो आठौं अर्धशतक बनाएका हुन् । उनको यो उच्च स्कोर पनि हो । यसअघि ६६ रन उनको व्यक्तिगत उच्च स्कोर थियो, जुन उनले सन् २०२२ मा ओमानविरुद्ध अमेरिकाको ह्युस्टनमा बनाएका थिए । गत वर्ष आरिफले अमेरिकाको ड्यालासमा स्कटल्यान्डविरुद्ध अविजित ५१ रन बनाएर नेपाललाई ५ विकेटको जित दिलाएका थिए ।

पछिल्लो एक वर्षमा नेपालले खेलेका एकदिवसीय अन्तराष्ट्रियमा आरिफले ७ इनिङ्समा सर्वाधिक २ सय ३९ रन बनाएका छन् । यो अवधिमा कप्तान रोहितले ८ खेलमा २ सय २७ र गुलशन झाले ८ खेलमा १ सय ९३ रन बनाएका छन् । आरिफले एकदिवसीय अन्तर्राष्ट्रियमा २७ माथिको औसतमा १ हजार २ सय ३ रन बनाइसकेका छन् । आरिफभन्दा बढी रन नेपालबाट रोहित पौडल (१८१३), उनका भाइ आसिफ शेख (१५६१) र कुशल भुर्तेल (१३६३) ले मात्र बनाएका छन् ।

‘आरिफ दाइले एकदमै राम्रो इनिङ्स शान्त र सभ्य भएर खेल्नुभयो । सुरुदेखि नै उहाँले स्थिति हेरेर खेल्नुभएको थियो, जतिखेर आवश्यक परेको थियो, त्यतिखेर चार्ज गरेर खेल्नुभयो,’ कप्तान रोहितले नेदरल्यान्ड्सविरुद्धको आरिफको इनिङ्सबारे भने, ‘दाइ कम्प्याक्ट हुनुहुन्छ, धेरै पटक नेपाललाई यसरी नै खेलेर जिताइसक्नुभएको छ ।’

हालको नेपाली टोलीमा आरिफ अनुभवी खेलाडी हुन् । सन् २०१४ मा मलेसियामा भएको विश्व क्रिकट लिग डिभिजन ३ देखि आरिफले नेपाली टोलीबाट खेल्दै आएका छन् । आरिफभन्दा वरिष्ठ टोलीमा सोमपाल कामीमात्र छन् । आरिफसँगैं खेलका ज्ञानेन्द्र मल्ल अहिले टोलीको प्रशिक्षणमा छन् ।

नेदरल्यान्ड्सविरुद्धको इनिङ्सले आरिफलाई गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकपमा नेपाली टोलीमा छनोटमा नपरेको पीडा भुलाइदिएको थियो । विश्वकप जाने अन्तिम टोलीको छनोटबाट फालिएपछि आरिफले समाजिक सन्जालमा आक्रोश पोखेका थिए । अन्य सयममा भने आरिफ क्रिकेटकै वास्तविक भलाद्मी जस्तै देखिन्छन् ।

नेपाली टोलीका प्रमुख ब्याटर भए पनि आरिफ ‘लाइमलाइट’ मा देखिँदैनन् । चर्चा बाहिर नै रहन्छन् र शान्त हिसाबमै टोलीमा रमाउँछन् । उनी भन्छन्, ‘म यस्तो विषयमा खासै ध्यान दिन्न । मैले जुन सयममा अवसर पाउँछु, त्यसमा खेलेर देखाउने हो । हरेक खेलमा योगदान दिउँ जस्तो लाग्छ । जति बढी बल खेल्न पायो, त्यति म्याच निकाल्ने अवसर बनाउँछु भन्नेमात्र मेरो दिमागमा हुन्छ ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully