आरिफको ब्याटिङमा नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

स्कटल्यान्डमा दुई शीर्षस्थ टोलीलाई स्तब्ध पार्दै नेपालको लगातार दोस्रो विजय

जेष्ठ २२, २०८२

विनोद पाण्डे, अंगद ढकाल

Arif's batting led Nepal to win over the Netherlands

डन्डी, स्कटल्यान्ड — आरिफ शेखको अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ । आरिफले खेलको एकमात्र अर्धशतक बनाएपछि नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै जित निकालेको हो । आरिफले ७८ रन बनाएपछि नेपालले डन्डीको फोर्थहिलमा २ सय २६ रनको लक्ष्य ४७.१ ओभरमै पूरा गर्‍यो ।

आरिफले ४० औं ओभरमा भिभिएन किङ्माको बलमा प्वाइन्टमाथि छक्का प्रहार गर्दै ८१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । ४२ औं ओभरमा आरिफले किङ्माको बलमा अर्को छक्का प्रहार गरेका थिए । आरिफले कुल ९९ बल खेली ७ चौका र २ छक्का प्रहार गरी किङ्माकै बलमा आउट भए ।

आरिफले ५९ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै आफ्नो आठौं अर्धशतक बनाएका हुन् । साथै उनको यो उच्च स्कोर पनि हो । यसअघि ६६ रन उनको व्यक्तिगत उच्च स्कोर थियो । आरिफले दीपेन्द्रसिंह ऐरीसँग ९२ बलमा ८९ रनको ठोस साझेदारी गरे । दीपेन्द्रले ५१ बल खेली ३ चौका प्रहार गरी अविजित ३८ रन बनाए । विजयी छक्का प्रहार गरेका गुलशन झा ४ बलमा ११ रन बनाई नटआउट रहे ।Arif's batting led Nepal to win over the Netherlandsआरिफ शेख

आरिफले यसअघि कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । रोहित ३९ बल खेली १ चौका प्रहार गरी २३ रनमा रनआउट भए । आरिफका दाइ आसिफ शेख र कुशल भूर्तेलले यसअघि ३२ रन जोडेर नेपाललाई मध्यम सुरुआत दिलाएका थिए । सातौं ओभरमा पाउल भान मिकेरेनले आसिफलाई बोल्ड गरी नेदरल्यान्ड्सलाई पहिलो सफलता दिलाएका थिए । आसिफले २२ बल खेली ३ चौका प्रहार गरी १९ रन बनाए ।

कुशल र भीम सार्कीले दोस्रो विकेटका लागि ३१ रन जोडे । ५ रनको अन्तरमा दुवै ब्याट्सम्यान आउट भएपछि नेपाल संकटमा परेको थियो । यसअघिका १३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा केवल २ विकेट लिएका ब्याटिङ अलराउन्डर माइकल लेभिटले कुशल र भीम दुवैलाई आउट गरेका थिए । भीमले २६ बल खेली १ चौका प्रहार गरी ११ रन बनाए । इन साइड एज लागि बोल्ड भएका कुशलले ४२ बल खेली ५ चौकासहित २५ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय २५ रनमा अलआउट भएको थियो । प्रमुख बलरहरू करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरेपछि लिग–२ को शीर्षस्थ टोली नेदरल्यान्ड्सलाई नेपालले ठूलो स्कोर बनाउनबाट रोकेको थियो । 

सोमपालले ३ विकेट लिए भने करण, सन्दीप र ललितले २–२ विकेट लिए । खेलको दोस्रो ओभर एवं आफ्नो पहिलो ओभरको पहिलो बलमै सोमपालले लेभिटलाई १ रनमा आउट गरे । सोमपालका ओपनिङ जोडी करणले पाँचौं ओभरमा म्याक्स ओ डाउडलाई ४ रनमा बोल्ड गरेपछि नेपालले सुरुआतदेखि नै खेल नियन्त्रणमा राखेको थियो ।

कप्तान स्कट इडवार्डसले ४६ रन बनाए । उनले ७१ बल खेली ४ चौका प्रहार गरे । इडवार्डसले विक्रमजित सिंहसँग तेस्रो विकेटका लागि १ सय १ बलमा ७२ रनको साझेदारी गरे । सिंहले ५६ बल खेली २ चौका प्रहार गरी ३८ रन बनाए । उनलाई सन्दीपले आफ्नो पहिलो ओभरमै आउट गरे ।

देव्रेहाते स्पिनर ललितले पनि आफ्नो पहिलो बलमै विकेट लिए । २७ औं ओभरमा ललितले इडवार्डसलाई कप्तान रोहितबाट क्याच गराए । ललितले ज्याक लियोन क्याचेटको पनि विकेट लिए । क्याचेतले ३४ बल खेली १ चौका प्रहार गरी २७ रन बनाए । देव्रेहाते तीब्र बलर रिजन ढकालको स्थानमा खेलेका ललितले ७ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । स्कटल्यान्डविरुद्ध २ विकेट लिए पनि रिजनले १० ओभरमा ७८ रन दिएका थिए ।

सन्दीपले तेजा निडामानुरुको विकेट पनि लिए । उनले आफ्नो १० ओभरको स्पेलमा ४८ रन खर्चेर २ विकेट लिए । निडामानुरुले २९ बलमा १३ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका नोह क्रोजले सर्वाधिक ४८ रन बनाए । ५५ बल खेल्दै ५ चौका प्रहार गरेका उनलाई सोमपालले बोल्ड गरे ।Arif's batting led Nepal to win over the Netherlands

रोइलोफ भान डेर मार्वी २२ बलमा २१ रन बनाई रनआउट भए । करणले १० ओभरमा ३५ रन खर्चे । सोमपालले भिभिएन किङमालाई १ रनमा बोल्ड गरे । सोमपालले ९.१ ओभरमा ४८ रन खर्चे । 

यसअघि नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको थियो । करण केसीले अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो लक्ष्य पछ्याएको थियो ।

लिग–२ को यस यात्रामा १४ खेलमा नेपालको केवल यो चौथो विजय हो । नेपाल १० अंकका साथ सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ र टोली शीर्ष स्थानमा रहेको अमेरिकाभन्दा २ अंकले मात्र पछाडि छ । आठ राष्ट्र सहभागी लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully