खेलाडी ‘इन्ट्री’ नपाएकोबारे उसु पदाधिकारीको प्रस्टीकरण

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Clarification of usu officials about the player not getting 'entry'

काठमाडौँ — नेपालमा उसु खेलका दुई महासंघ अस्तित्वमा रहँदा उसुका राष्ट्रिय खेलाडीहरू मर्कामा परेका छन् । आसन्न एसिया कप उसु च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागिता अनिश्चित बनेको छ ।

उसु खेलाडी दीपक हमाल र शिव सिलवाल चीनमा जुलाई २ देखि ७ सम्म हुने उक्त च्याम्पियनसिपका लागि छनोट भएका थिए । तर दुई महासंघको विवादका कारण उनीहरूको सहभागिता निश्चित हुन सकेको छैन ।

उनीहरूसहित ५ खेलाडीले अघिल्लो दिन पत्रकार सम्मेलन गरेर जापानमा गत अक्टोबरमा भएको तेस्रो थाउलु उसु विश्वकप खेल्दा आयोजक जापान उसु फेडेरेसनलाई बुझाउनुपर्ने रकम बुझाउन नसक्दा आफूहरूले अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि ‘इन्ट्री’ नपाएको गुनासो गरेका थिए ।

राष्ट्रिय मान्यताप्राप्त नेपाल उसु महासंघले बिहीबार पत्रकार सम्मेलनबाट अन्तर्राष्ट्रिय मान्यता बोकेर बसेको नेपाल उसु महासंघको लापरबाहीका कारण खेलाडीहरू खेल्न नपाएको प्रस्टीकरण दिएको छ ।

उसु महासंघका महासचिव नवराज ढुंगानाले जापानमा आयोजित तेस्रो थाउलु उसु विश्वकपमा भएको खर्च अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघले नतिरेपछि नेपाललाई अन्तर्राष्ट्रिय उसु महासंघले अन्य प्रतियोगिताका लागि इन्ट्री नदिएको बताए ।

‘जापान उसु फेडेरेसनले हामीलाई ७ हजार २८० अमेरिकी डलर तिर्न बाँकी रहेको पत्र पठाएको छ । उक्त रकम समयमै तिर्न नसके नेपाली उसु अन्तर्राष्ट्रिय उसु महासंघको कालोसूचीमा पर्नेछ,’ ढुंगानाले भने ।

लाक्पा लामाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त उसु महासंघले प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागिता गराएको थियो । त्यसमा दीपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगरले भाग लिएका थिए । विजयले ऐतिहासिक कांस्य पदक पनि जितेका थिए ।

गत वर्ष चीनमा सम्पन्न विश्वकप छनोटमा १४ खेलाडीसहितको नेपाली टोलीले सहभागिता जनाएको थियो । सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपालबाट ५ खेलाडी थाउलु विश्वकपलाई छानिएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्बाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढेको र युवा तथा खेलकुद मन्त्रालयमा गएर रोकिएको खेलाडीहरूको आरोप थियो ।

राष्ट्रिय मान्यताप्राप्त उसु महासंघका अध्यक्ष शैलेश कर्माचार्य खेलाडीको खर्च विवरण तिर्न राज्य तयार रहेको बताउँछन् । तर राज्यकोषमार्फत जाने रकम आफ्नो आधिकारिक महासंघमार्फत हुनुपर्ने उनको जिकिर छ । तर अन्तर्राष्ट्रिय समन्वय भने अर्को उसु महासंघसँग छ । त्यसलाई सरकारले अवैधानिक मानेको छ । जसले गर्दा उसु खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता भविष्य अन्योलमा परेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully