पोखरा — नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा यहि जेठ २७ देखि ३१ सम्म पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगितामा राष्ट्रियस्तरका ६ प्रमुख महिला टिमहरू- नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहनेछ। प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ।
एकेडेमीले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा हुने प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सहभागी टिमहले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए । 'भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको सन्दर्भमा हामीले यसको विकास र व्यावसायिक उचाइमा पुर्याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं,' उनले भने, 'यो प्रतियोगिता महिला भलिबल खेलाडीहरूको क्षमताको पहिचान र प्रवर्द्धनमा एक कोसेढुंगा बन्ने विश्वास लिएका छौं ।'
उनले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै फागुनसम्म पुरूष भलिबल प्रतियोगिता आयोजना गर्ने उल्लेख गरे । अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले वृहत् खेलकुद महोत्सव आयोजनाको तयारी गरिरहेको सुनाए ।
