काठमाडौँ — नेपालका एमेच्योर गल्फर सद्भाव आचार्यको कोर्स रेकर्डसहित नेपाल ‘ए’ ले ११ औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम विधामा स्वर्ण जितेको छ । टोलीमा सदभाव र राहुल विश्वकर्माले ३६ होल समाप्तिमा २४ अन्डर २ सय ६४ को स्कोरसहित स्वर्ण जितेको थियो ।
गोकर्ण गल्फ क्लबमा बुधबार सदभावले १२ अन्डर ६० को अविश्वसनीय स्कोरमा कोर्स रेकर्ड बनाए । राहुलले बुधबार ४ अन्डर ६८ स्कोर गरे । नेपाल ’ए’ ले १६ अन्डर १ सय २८ को स्कोर गरेर भुटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हराएको हो ।
निमदोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्टब्याकमा दोस्रो भयो । भुटान र बंगलादेश इभन पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा निकालिएको थियो । सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दिनसम्मिलित बंगलादेश टिमले कांस्य जित्यो ।
दोस्रो दिन व्यक्तिगत स्पर्धामा सदभाव शीर्षस्थानमा कायमै रहन सफल भए । ३६ होल समाप्तिमा समग्रमा १८ अन्डर १ सय २६ को स्कोरमा सदभावले भारतका सुमित कोटवाललाई ८ स्ट्रोकले पछि पारे ।
सदभावले १२ अन्डर ६० को स्कोरमा प्रोफेसनल गल्फर शुक्रबहादुर राईको नाममा रहेको ११ अन्डर ६१ को रेकर्ड तोडे । शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा उक्त रेकर्ड बनाएका थिए ।
कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डी प्रहार गरे । फ्रन्ट र ब्याकनाइन दुवैमा ६ अन्डर ३० को स्कोर निकाले । सदभावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको सुरु गरे । यसपछि तेस्रोदेखि छैटौं होलमा लगातार ४ र नवौं होलमा अर्को बर्डीको सफलता प्राप्त गरे ।
यसपछि ११ देखि १५ औं होलमा लगातार ५ बर्डी प्रहार गर्दा शुक्रको रेकर्ड बराबरी गरे । १६ र १७ औं होलमा पार जोगाए । १८ औं होलको बर्डीले सदभाव कोर्स रेकर्ड बनाउन सफल भए । यो स्कोर उनको करियरको उत्कृष्ट प्रदर्शन हो । उनले गत वर्ष सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा ८ अन्डर ६४ को स्कोर निकालेका थिए ।
दोस्रो स्थानमा उक्लिएका सुमितले समग्रमा १० अन्डर १ सय ३४ स्कोर गरे । उनले बुधबार ८ अन्डर ६४ को स्कोर गरे । राहुल विश्वकर्मा समग्रमा ६ अन्डर १ सय ३८ सहित तेस्रो स्थानमा छन् । उनले बुधबार ४ अन्डर ६८ को स्कोर कार्ड बनाए ।
समग्रमा ४ अन्डर १ सय ४० को स्कोरमा श्रीलंकाका रेसन अलगामा र बंगलादेशका मोहम्मद सहाब उद्दिन संयुक्त चौथो स्थानमा छन् । बुधबार रेसनले ४ अन्डर ६८ र सहाबले २ अन्डर ७० को स्कोर गरे । समग्रमा २ ओभर १ सय ४६ को स्कोरमा भुटानका निमदोर्जी तामाङ र नेपालका टासी छिरिङ संयुक्त सातौं स्थानमा रहे । दुवैले इभन–पार ७२ स्कोर गरे । समग्रमा ४ ओभर १ सय ४८ सहित बंगलादेशका सफिकुल इस्लाम (७३) र नेपालका वाङ्चेन ढोन्डुप (८०) संयुक्त नवौं स्थानमा छन् ।
महिलातर्फ भारतकी अनन्थी विवेक समग्रमा ३ अन्डर १ सय ४१ सहित भारतकै दिया क्रिस कुमारलाई १४ स्ट्रोकले पछि पार्दै अगाडि छन् । अनन्थीले २ अन्डर ७० को स्कोर बनाइन् । १ अन्डर ७१ को स्कोरमा दिया समग्रमा ११ ओभर १ सय ५५ सहित दोस्रो स्थानमा छन् । नेपालकी तारा कार्की समग्रमा १९ ओभर १ सय ६३ सहित तेस्रो स्थानमा रहिन् । बुधबार उनले ११ ओभर ८३ मा खेल पूरा गरिन् ।
यू–१६ ब्वाइजतर्फ भारतका भिभान उभायकर समग्रमा १ ओभर १ सय ४५ सहित ४ स्ट्रोकको अग्रता सहित शीर्षमा छन् । उनले बुधबार १ अन्डर ७१ खेले । भारतका प्रिम्स बैंशला समग्रमा ५ ओभर १ सय ४९ सहित दोस्रो स्थानमा छन् । उनले २ ओभर ७४ को स्कोर निकाले । भारतकै अदभय बगला समग्रमा ८ ओभर १ सय ५२ सहित तेस्रो स्थानमा रहे । उनले बुधबार ४ ओभर ७६ को स्कोर गरे ।
समग्रमा ९ ओभर १ सय ५३ सहित नेपालका रुबेन थापा चौथो स्थानमा छन् । भारतका पिएस निलोफर, नेपालका ड्यानियल बानियाँ, सोहम अग्रवाल, दिप्सन लामा र अभानी राईले कट बनाएका छन् ।
