डन्डी, स्कटल्यान्ड — नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग-२ मा बुधबार नेपाललाई २ सय २६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्स डन्डीको फोर्थहिलमा ४९.१ ओभरमा २ सय २५ रनमा अलआउट भयो ।
प्रमुख बलरहरू करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरेपछि लिग-२ को शीर्षस्थ टोली नेदरल्यान्ड्सलाई नेपालले ठूलो स्कोर बनाउनबाट रोकेको हो ।
खेलेको दोस्रो ओभर एवं आफ्नो पहिलो ओभरको पहिलो बलमै सोमपालले माइकल लेभिटलाई १ रनमा आउट गरि नेपाललाई सफलता दिलाएका थिए । सोमपालका ओपनिङ जोडी करणले पाँचौँ ओभरमा म्याक्स ओ डाउडलाई ४ रनमा बोल्ड गरेपछि नेपालले सुरुआतदेखि नै खेल नियन्त्रणमा राखेको थियो ।
कप्तान स्कट इडवार्डसले ४६ रन बनाए । उनले ७१ बल खेली ४ चौका प्रहार गरे । इडवार्डसले विक्रमजित सिंहसँग तेस्रो विकेटमा १ सय १ बलमा ७२ रनको साझेदारी गरे । सिंहले ५६ बल खेली २ चौका प्रहार गरी ३८ रन बनाए । उनलाई सन्दीपले आफ्नो पहिलो ओभरमै आउट गरे ।
देब्रेहाते स्पिनर ललितले पनि आफ्नो पहिलो बलमै विकेट लिए । २७ औं ओभरमा ललितले इडवार्डसलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए । ललितले ज्याक लियोन क्याचेटको पनि विकेट लिए । क्याचेतले ३४ बल खेली १ चौका प्रहार गरी २७ रन बनाए । देब्रेहाते तीव्र बलर रिजन ढकालको स्थानमा खेलेका ललितले ७ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । स्कटल्यान्डविरुद्ध २ विकेट लिए पनि रिजनले १० ओभरमा ७८ रन दिन पुगेका थिए ।
सन्दीपले तेजा निडामानुरुको विकेट पनि लिए । उनले आफ्नो १० ओभरको कोटामा ४८ रन खर्चेर २ विकेट लिएका हुन । निडामानुरुले २९ बलमा १३ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका नोह क्रोजले सर्वाधिक ४८ रन बनाए । ५५ बल खेल्दै ५ चौका प्रहार गरेका उनलाई सोमपालले बोल्ड गरे ।
रोइलोफ भान डेर मार्वी २२ बलमा २१ रन बनाई रनआउट भए । करणले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । सोमपालले भिभिएन किङमा १ रनमा बोल्ड गरे । सोमपालले ९.१ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए ।
यस शृंखलामा नेपालको यो दोस्रो खेल हो । नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको थियो । करण केसीले अविजित अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो ।
नेदरल्यान्ड्सको यस शृंखलामा यो पहिलो खेल हो । नेदरल्यान्ड्स २० खेलमा २६ अंक बोकी दोस्रो स्थानमा ६ र टोली शीर्ष स्थानमा रहेको अमेरिकाभन्दा २ अंकले मात्र पछाडि छ । नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ । आठ राष्ट्र सहभागी लिग-२ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।
